म्याग्दी- विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आएका बेनी नगरपालिका-२ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त छन्।
जिल्लाको पर्यटकीयस्थल लभ्लीहिलसँगै जोडिएको जग्गामा उनले उत्पादन गरेका प्याज, काउली, ब्रोकाउली, बन्दा, गोलभेँडाका बेर्ना खरिद गर्नेको दैनिक भीड लाग्ने गरेको छ।
दैनिक ६० जनाभन्दा बढी ग्राहक बेर्ना खरिद गर्न आफ्नो नर्सरीमा आउने गरेका उनले बताए। मङ्सिर पहिलो सातासम्म बिरुवा बिक्री गरेर उनले दुई लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको जानकारी दिए। 'हालसम्म दुईलाख १० हजार रूपैयाँ बराबरका बेर्ना बेचेँ। नर्सरीमा विभिन्न जातका बेर्ना हुर्कँदै छन्', उनले भने।
उनको परिवारका चार सदस्यको इलम पनि बेर्ना उत्पादन भएको छ। बेर्नासँगै उनले सागसब्जी पनि लगाएका छन्। जैविक उत्पादन भएकाले ती खरिद गर्न उनको बारीमा नै ग्राहकको भीड लाग्ने गरेको छ। बेनी बजारमा पनि उनका उत्पादन केही घण्टामा उपभोक्ताका घरमा पुगिसक्छन्।
सागसब्जीका बेर्ना खरिद गर्न कार्कीको नर्सरीमा रत्नेचौर, भकुण्डे, गौश्वारा,बगरफाँट, पुलाचौरदेखि पर्वतको मल्लाज र बागलुङको कुँडुले, बान्द्रेलगायतका स्थानबाट किसान आउने गरेका छन्। उनले एक याममा बेर्ना बेचेर दुई लाख रूपैयाँभन्दा बढी आर्जन गर्दै आएको बताए। दुई रोपनी जग्गामा उनको नर्सरी फैलिएको छ।
'बीउ र मलमा ३० हजार रूपैयाँदेखि ४० हजार रूपैयाँसम्म लगानी हुन्छ। एकै सिजनमा दुई लाख रूपैयाँदेखि तीन लाख रूपैयाँसम्म आम्दानी गर्न सफल भएको छु', कार्कीले भने। रासस