शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

झापामा चिया बगानले हडपेको १० बिघाभन्दा बढी जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर ७ २०८१
images
images
झापामा चिया बगानले हडपेको १० बिघाभन्दा बढी जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा

सरकारी जग्गालाई निजी बनाएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६६ मङ्सिर २२ गते नकलबन्दा टी इस्टेटको नाममा रहेको जग्गा बदर गरी सरकारको कायम गर्ने निर्णय गरेको थियो।

images
images

झापा- मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि हडपेको १० बिघा पाँच कठ्ठा सात धुर सरकारी जग्गा सरकारकै स्वामित्वमा फर्काइएको छ। 

images
images
images

मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले नगर प्रहरी, उपप्रमुख, वडाध्यक्षहरुसहित जग्गा रहेको चिया बगानमा पुगेर उक्त जग्गा सरकारको स्वामित्व र नगरपालिकाको संरक्षणमा रहने घोषणा गरे।

images

नगरप्रमुखसँगै गएका नगर प्रहरीले उक्त सरकारी जग्गाको क्षेत्रफल अङ्कित साइनबोर्ड राखेका छन्। नगरप्रमुख बुढाथोकीले सरकारको नाममा कायम भइसकेको जग्गा चिया बगानले भोगचलन गरिरहेको हुँदा अबउप्रान्त नगरपालिकाले यसको संरक्षण र उपयोग गर्ने सन्देश सार्वजनिक गर्न साइनबोर्ड राखिएको बताए।

images

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका अनुसार हाल चिया बगान रहेको उक्त जग्गा २०४८ असोज २५ गते उद्योगी दिनेशप्रसाद कानुले आफ्नो नाममा दर्ता गरेका थिए।

ऐलानी पर्ती रहेको जग्गालाई कानुले छुट दर्ताको पर्चा खडा गरेर आफ्नो नाममा दर्ता गरेको र आफ्नै स्वामित्वको नकलबन्दा टी इस्टेटलाई २०५५ असोज ११ गते बिक्री गरेका थिए।

सरकारी जग्गालाई निजी बनाएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६६ मङ्सिर २२ गते नकलबन्दा टी इस्टेटको नाममा रहेको जग्गा बदर गरी सरकारको कायम गर्ने निर्णय गरेको थियो।

सरकारको स्वामित्व कायम गर्ने अख्तियारको निर्णय आइसकेपछि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले २०६६ पुस ६ गते सरकारी रेकर्डबाट नकलबन्दाको लगत कट्टा गरी सरकारको नाम समावेश गरेको नगरप्रमुख बुढाथोकीले जानकारी दिए। चिया बगानले हडपेको ३३ वर्षपछि र सरकारको लगत कायम भएको १५ वर्षपछि मेचीनगर नगरपालिकाले जग्गाको संरक्षणमा चासो देखाएको हो। 

नगरपालिकाको संरक्षणमा आएको जग्गामा चियाका बोट र ठूला रुखहरु छन्। लगाइएको बाली उठाएर जग्गा खाली गरिदिन मेचीनगर नगरपालिकाले नकलबन्दा टी इस्टेटलाई दुईपटक पत्राचार गरेको जनाएको छ।

'अब यो जग्गा नगरपालिकाको संरक्षणमा आएको छ', नगप्रमुख बुढाथोकीले भने 'सरकारले सँधैभर उहाँहरु (चिया बगान सञ्चालक) लाई भोग गर्न दिइरहने कुरा आउँदैन। जग्गाको बहुउपयोग कसरी गर्न सकिन्छ भनेर कार्यपालिकामा छलफल र निर्णय गरेर अघि बढ्नेछौँ।'

नगरपालिकाले जग्गाको संरक्षणमा चासो देखाए पनि अहिलेसम्म जग्गाको सिमाना यकिन भइसकेको छैन। साविक नकलबन्दाको वडा नं. ७ का कित्ता नम्बरहरु ३७०, ३७१, ३७२, ३७३, ३७५, ३७६, ३७७, ३७८, ३७९, ३८०, ३८१, ३८२, ३८३, ३८४, ३८५, ३८६, ३८७, ३८९, ३९०, २३१ र २३२ को जग्गा नकलबन्दा टी इस्टेटबाट सरकारको नाममा आएको हो। रासस


प्रकाशित : शुक्रबार, मंसिर ७ २०८१११:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend