काठमाडौं- सार्वभौम क्रेडिट रेटिङ सन्तोषजनक अवस्थामा रहेको अर्थ मन्त्रालयले जनाएको छ। जसका कारण अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्यून ब्याजदरमा प्राप्त गर्न सक्ने अवस्था सिर्जना हुने मन्त्रालयको भनाइ छ।
रेटिङ सार्वजनिक भएसँगै अर्थमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले यस पटकको क्रेडिट रेटिङले नेपाल लगानीका लागि सुरक्षिति मुलुक रहेको देखाएको बताए।
मन्त्री पौडेलले भने, 'क्रेडिट रिटिङले नेपाल लगानीका लागि सुरक्षित रहेको सन्देश दिएको छ। यसले नेपालमा वैदेशिक लगानीका भित्र्याउने मद्दत गर्ने विश्वास लिएका छौ। यसबारे नकारात्मक भन्दा पनि सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक छ।'
नेपालले सार्वभौम क्रेडिट रेटिङ ‘डबल बी माइनस’ स्कोर प्राप्त गरेको थियो। रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेकोसमेत मन्त्रीले बताए।
'क्रेडिट रेटिङ्गको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ,' मन्त्री पौडेलले भने, ' यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने देखिन्छ।'
सार्वभौम क्रेडिट रेटिङ्गमा मूलतः अर्थतन्त्रका चार क्षेत्रहरु अर्थतन्त्रको संरचनगत पक्ष, समष्टिगत आर्थिक उपलब्धी ,सार्वजनिक वित्त र वाह्य क्षेत्रका आर्थिक परिसूचकको विस्तृत रुपमा लेखाजोखा गर्ने गरिन्छ।
मुलुकको सार्वभौम क्रेडिट रेटिङ्ग गर्दा यस्ता पक्षहरुलाई विभिन्न सार्वभौम रेटिङ्ग मोडल र गुणात्मक मापन विधीवाट स्वतन्त्र रुपमा मूल्यांकन गरी प्राप्त स्कोरलाई न्यूनतम डी देखि अधिकतम एएए सम्म रेटिङ्ग प्रदान गर्ने गरिन्छ।
एएएले मुलुकको रहेको देखाउँदछ भने डी ले डिफल्टको अवस्थालाई ईंगित गर्दछ। उक्त प्रक्रिया बमोजिम फिच रेटिङ लिमिटेड ले नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकहरुको अवस्था, वाह्य क्षेत्रका आर्थिक परिसूचकहरु, सोहौ योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालीन तथा दीर्घकालीन खाका लगायतका विवरण र तथ्यांकको विश्लेषण गरेको थियो। जसमा नेपालले डबल बी माइनस’ स्कोर प्राप्त गरेको थियो।