काठमाडौं- चीन विश्वकै प्रमुख नयाँ ऊर्जा सवारीसाधन (एनईभी) र पावर ब्याट्री निर्माता बीवाईडीले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा आफ्नो १ करोडौँ एनईभी गाडी उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
सियाओमो उत्पादन केन्द्रको शेन्जेन-शानवेई विशेष क्षेत्रमा १ करोडौँ एनईभी गाडी उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ। यो उपलब्धिले दिगो यातायातप्रतिको बीवाईडीको दृढ प्रतिबद्धता र अटोमोबाइल उद्योगमा विश्वव्यापी लिडरको रूपमा यसको स्थानलाई अझ बलियो बनाएको छ।
कार्यक्रममा बीवाईडीका सभापति एवम् अध्यक्ष वाङ चुआनफुले प्रमुख मन्तव्य दिँदै कम्पनीको यात्रा सम्झिए। उनले २० जना कर्मचारीसहित सानो स्टार्टपबाट सुरू भइ आज विश्वभर लगभग १० लाख कर्मचारी भएका बहुराष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गरे। वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बीवाईडीको महत्त्वपूर्ण भूमिका रहेको जनाए।
कम्पनीका अनुसार १ करोड नयाँ ऊर्जा सवारीसाधन (एनईभी) उत्पादनको उपलब्धि बीवाईडीको दिगो विकासप्रतिको दृढ प्रतिबद्धताको प्रमाण हो। यस उपलब्धिलाई हासिल गर्ने बीवाईडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको छ।
कम्पनीले पहिलो ५० लाख एनईभी उत्पादन गर्न १५ वर्ष लगाएको, तर त्यसपछिको अर्को ५० लाख उत्पादन मात्र १५ महिनामै गरी नयाँ ऊर्जा सवारीसाधन (एनईभी) र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण उल्लेखनीय रूपमा प्रस्तुत गरेको बताइएको छ।
१ करोडौँ गाडी डेन्जा जेठनाईन्, गेम साइन्सका संस्थापक एवम् सीईओ तथा चर्चित खेल 'ब्ल्याक मिथः बुकोग' का स्रष्टा फेड जीलाई प्रदान गरिएको छ। वाङले बीवाईडीको सफलता साहसी दृष्टिकोण, निरन्तर कार्यान्वयन र अटल धैर्यतामा आधारित भएको बताए। उनले कम्पनीको उपलब्धिको श्रेय यसको बलियो प्राविधिक क्षमता र गहिरो रूपमा गडेको इन्जिनियरिङ कल्चर रहेको टिप्पणी दिए। उनले भने, 'बीवाईडीका इन्जिनियरहरूको आत्मा नै हाम्रो कम्पनीको आत्मा हो।'
आगामी योजनामा, बीवाईडीले अटोमोटिभ प्रणालीहरूलाई एकीकृत गर्ने बौद्धिक प्रविधिहरूमा १०० अर्ब युआनको लगानी गर्नेछ, जसले बीवाईडीको सम्पूर्ण सवारीसाधन श्रृंखलामा व्यापक सुधार ल्याउने बताइएको छ।