काठमाडौं- नक्कली फेसबुक आईडी प्रयोग गरी रकम ठगी गरेको अभियोगमा काठमाडौं बस्ने तनहुँका रूद्रबहादुर गुरूङलाई प्रहरीले पक्राउ गरेको छ।
फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी सोही आईडीहरूको दुरुपयोग गर्दै केटी साथीहरू बनाएर ठगी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
आफू फ्रान्स, सिंगापुरको लाहुरे हुँ, तिमीलाई मन पराउँछु, बिहे गरी सिंगापुर लैजान्छु, सिंगापुर लैजानको लागि कागजातहरू बनाउनुपर्छ त्यसबापत पैसा लाग्छ भन्दै काठमाडौं, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया र परिचय परिवर्तन गरी भेट्न बोलाएर करिब २७ लाख ८३ हजार २ सय रूपैयाँ रकम ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ।
उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।