बाँके- नेपालगञ्ज उपमहानगरपालिका-१८ निवासी तेजनगरका वीरबहादुर हमाललाई गड्यौलाको मल जुम्लामा पुर्याउन समस्या भएको छ। जुम्लासहित उच्च हिमाली भेगमा स्याउ किसानले गड्यौलाको मलको माग गरेपछि मल ढुवानीमा समस्या भएको हो।
'हाम्रो उत्पादन क्षमता भन्दाबढी वर्षमा चार सय टन मलको माग भएको थियो, त्यसलाई पूरा गर्न सकेका छैनाैँ। हामीसँग उत्पादन भएकोलाई बजारीकरण गरिरहेका छौँ', हमालले भने। १० वर्षअघि नेपालगञ्ज-१ स्थित नन्दनी टोलमा ‘एभरेष्ट अर्गानिक एग्रोफार्म’ स्थापना गरी गड्यौलाको मल उत्पादन सुरु गरेको उनले बताए।
हमालले जमिन उर्वर बनाउन र विद्यमान मलको अभावलाई हटाउन गड्यौलाको मल सहयोगी हुने विश्वास व्यक्त गरे। 'कृषि कर्म गर्दा स्वस्थ उत्पादनमा जोड दिनुपर्छ। अनावश्यक रूपमा रसायनिक मलको प्रयोग गर्दा माहो र जलमा नकारात्मक असर गर्न सक्छ', उनले भने।
अन्य किसानले उत्पादन गरेका गोलभेँडा, काउलीलगायत तरकारी सङ्कलन गरेर प्रशोधन र बजारीकरण गर्दै किसानको उत्थान गरिरहेको बताउँदै हमालले जैविक मलका रूपमा गड्यौला मल प्रभावकारी हुनुका साथै कमटोको उर्वरशक्ति बढाउने उल्लेख गरे।
विसं २०७१ देखि २०७५ सम्म करिब ५० क्विन्टल मल उत्पादन भएको भन्दै हमालले पछिल्लो समय त्यसलाई बढाएर वार्षिक ३२ टन पुर्याइएको जानकारी दिए। गड्यौलाको मलको उत्पादन वृद्धि गर्दै एक सय टन पुर्याउने योजना रहेको उनले जानकारी दिए।
आत्मनिर्भर कृषि कर्मको विकास गर्न, विदेशी कम्पनीले उत्पादन गरेका बिउ र रासायनिक मललाई विस्थापित गर्न अर्गानिक उत्पादनमा स्थानीय सरकारले किसानलाई सहयोग गर्नुपर्नेमा हमालले जोड दिए। 'हामी परनिर्भर हुँदा उत्पादकत्व घटेको छ', उनले भने।
हमालले स्थानीय स्रोतसाधनको कच्चापदार्थ सदुपयोग गरेर गड्यौलाको मल उत्पादन गरिरहेका छन्। दश फिट लम्बाइ र २२ फिट चौडाइमा निर्माण भएको ५२ पिटमा ४० क्विन्टल गड्यौला बिक्री भएको उनले जानकारी दिए। भारतको पिलिभितबाट ती गड्यौला नेपालगञ्ज ल्याएको उनको भनाइ छ।
'गड्यौलाको मलबाहेक गड्यौला पनि बिकी हुने गरेको छ। अहिले जुम्लासहित हिमाली क्षेत्रमा ९० प्रतिशत मल जान्छ। अन्य नेपालगञ्जका बजार क्षेत्रमा खपत हुने गरेको छ', हमालले भने। १५ हजार रुपैयाँबाट सुरु भएको फार्ममा अहिले २२ लाख रुपैयाँ लगानी भइसकेको छ। सबै खर्च कटाएर वार्षिक २२ लाखसम्म आम्दानी भइरहेको उनले जानकारी दिए।
मल प्रतिकिलोलाई ३० रुपैयाँ र गड्यौला प्रतिकिलो तीन सय रुपैयाँमा बिक्री भइरहेको हमालले जानकारी दिए। उनले गाईभैँसीको गोबर र स्याउला सङ्कलन गरेर खाडलमा राखी पाँचदेखि १० महिनामा ‘आइसनिया फेडिडा’ नामक प्रजातिको गड्यौलालाई गोबर खुवाएर मल उत्पादन हुने बताए।
यसले माटोको उर्वर शक्ति १० गुणा बढी वृद्धि हुने विश्वास गरिएको छ। गड्यौलाले बिरुवाका लागि तयारी खाना उत्पादन गर्दछ। यो मल पानीमा पनि घुलनशील हुने, प्रतिफल पनि छिटो दिने र बालीको उत्पादन पनि बढाउने विज्ञहरू बताउँछन्।
उपमहानगरको कृषि शाखा र कृषि ज्ञान केन्द्र बाँकेबाट प्राविधिक सहयोगसहित पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको हमालले जानकारी दिए। चार कट्ठा जमिन भाडामा लिएर फार्म सञ्चालन भएको हो। रासस