आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न ‘माईपोखरी बहुधार्मिक महोत्सव’ हुँदै

images
सोमबार, कात्तिक २६ २०८१
images
माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न ‘माईपोखरी बहुधार्मिक महोत्सव’ हुँदै

महोत्सवमा आन्तरिक र बाह्य गरी ५० हजार पर्यटक र भक्तजनलाई माईपोखरी भ्रमण गराउने आयोजकको लक्ष्य छ।

images
images

इलाम- सन्दकपुर गाउँपालिका-३ स्थित धार्मिक-पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुईदिने बहुधार्मिक महोत्सव आयोजना गर्न हुने भएको छ।

images
images
images

माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रुपमा प्रवर्द्धन तथा बहुआयमिक अनुसन्धानस्थलका रुपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक समिति अध्यक्ष प्रेम नाछिरिङ राईले बताए।

images
images

यही कात्तिक २६ र २७ मा सञ्चालन हुने महोत्सवमा विभिन्न हिन्दू, बौद्ध र किरात धर्मगुरुले पूजापाठ, मन्त्रोच्चरण समेत गर्ने उनले जानकारी दिए। 'माईपोखरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बहुधार्मिक महोत्सव आयोजना गरिएको छ', अध्यक्ष राईले भने, 'महोत्सवमा धार्मिक प्रवचनका साथै विभिन्न क्षेत्रको दृश्यावलोकन समेत गराइनेछ।'

images
images

महोत्सवमा माईपोखरी दर्शन तथा अवलोकन, माईपोखरी परिसरका सत्यधुनी पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्धगुम्बा, तीनचुलो, युमाथान अवलोकन तथा हिन्दू, बौद्ध र किरात धर्मको धार्मिक प्रवचन सुन्न पाइने छ। त्यस्तै विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, भेशभूषा प्रदर्शन एवं जातीय सांस्कृतिक परिकार प्रदर्शन गरिने अध्यक्ष राईले बताए। यहाँ आउने पर्यटकले फूल, आलु, मूला, अर्गानिक चिया र तरकारीको प्रदर्शन गरिनेछ। 

महोत्सवमा आन्तरिक र बाह्य गरी ५० हजार पर्यटक र भक्तजनलाई माईपोखरी भ्रमण गराउने आयोजकको लक्ष्य छ। माईपोखरी पुग्ने पर्यटकलाई खान र बस्नका लागि होमस्टेको व्यवस्था गरिएको आयोजक समिति कोषाध्यक्ष निर्मला निरौलाले बताइन्।

नौवटा कुन रहेको माईपोखरीमा पूजापाठ गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। दुई हजार एक सय २१ मिटर अग्लो डाँडामा रहेको माईपोखरीको दुई हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेदनशील मानिएको छ। बाक्लो कुहिरोले छाडेर आकाश खुल्नसाथ माईपोखरी निकै मनमोहक देखिन्छ।

हरेक वर्ष हरिबोधनी एकादशी र नयाँ वर्षमा यहाँ ठूलो धार्मिक मेला लाग्ने गर्दछ । यस पटक भने महोत्सव नै आयोजना गरिएको आयोजक समिति सदस्य लिला भट्टराईले बताइन्। 'विगतमा यहाँ धार्मिक मेला लाग्ने गर्दथ्यो, यसपटक हामीले बहुधार्मिक महोत्सव नै आयोजन गर्ने जमर्को गरेका छौँ', उनले भनिन्, 'यसले माईपोखरीको पर्यटन प्रवर्द्धनमा योगदान गर्नेमा विश्वस्त छौँ।'

माईपोखरी सन् २००८ अक्टोबर २८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दशौँ बैठकले विश्व सम्पदा सूचीमा राखेको छ। माईपोखरी जान इलाम सदरमुकामबाट उत्तरमा बिब्लयाँटे बजार हुँदै आधा जति कालोपत्रे र आधा जति कच्ची गरी १३ किलोमिटर सडक पार गर्नुपर्ने हुन्छ। रासस


प्रकाशित : सोमबार, कात्तिक २६ २०८१११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend