काठमाडौं- आउँदो २३ गते शुक्रबारदेखि चैत १८ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदैछ। सोहीअनुसार विमानस्थल कार्यालयले उडान तालिका स्वीकृत गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानस्थल सञ्चालनको समय छोट्याउँदा आन्तरिकतर्फ ३५ र अन्तर्राष्ट्रियतर्फ २९ प्रतिशत उडान कटौती हुने निश्चित भएको छ।
कार्यालयले स्तरोन्नतिका कारण ‘उडान समय’ छोट्याएको छ। बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटाम’ जारी भएको छ। तत्कालका लागि केही उडान तालिका कटौती भए पनि स्तरोन्नतिपछि जहाजको आउजाउ तथा ट्राफिकमा धेरै सुविधा थपिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बताउँछन्।
उडान तालिका कटौती हुँदा प्राधिकरणले तत्कालका लागि केही राजस्व गुमाउँछ तर दीर्घकालमा काठमाडौं विमानस्थलको सेवामा विस्तार हुने र एयरलाइन्स तथा यात्रु सबैलाई सहज हुने अधिकारीको दाबी छ।
महानिर्देशक अधिकारीका अनुसार धावन मार्ग र समानान्तर ट्याक्सी वेबीच लिंक रोड निर्माणका लागि विमानस्थल सञ्चालन समय घटाइएको हो। अहिले ल्याण्ड भएका जहाज समानान्तर ट्याक्सी वे नहुँदा रनवे हुँदै एप्रोनसम्म जहाज आउनुपर्ने बाध्यता छ। यो बाध्यता अन्त्यका लागि नै प्राधिकरणले ४ अर्बभन्दा बढी खर्च गरेर सामानान्तर ट्याक्सी वे निर्माण गरिरहेको छ। ट्याक्सी वे र रनवेलाई जोड्न नै विमानस्थल सञ्चालनको समयमा घटाएर काम गर्नु परेको अधिकारी बताउँछन्।
रनवे र ट्याक्सी वेबीचको कनेक्सन जडानको काम गर्दैगर्दा विमानस्थल आंशिक तथा पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने छ। तर प्राधिकरणले अहिले १० घण्टा विमानस्थल बन्द गरेर काम गर्न लागेको छ। रनवे र ट्याक्सीवे जडान बिन्दु १० वटा जति रहेका छन्।
एकैपटकमा विमानस्थल लगातार बन्द नहुने भए पनि काम गर्दै जाँदा प्रतिकूल अवस्था सिर्जना भएको अवस्थामा भने पूर्णरुपमा केही समय विमानस्थल बन्द गर्नुपर्ने अवस्था आउन सक्नेसमेत प्राधिकरणले जनाएको छ।
यो काम सम्पन्न भएपछि अहिले भइरहेको उडान संख्या २५ प्रतिशतसम्मले बढ्ने अधिकारी बताउँछन्। ट्याक्सी वे बनेपछि जहाज ट्याक्सी वे हुँदै एप्रोनमा आउँदा रनवे प्रयोग समय बढ्छ। विमानस्थल सञ्चालनको समय घटाउनुपर्ने प्रमुख कारण रनवे र ट्याक्सी वे जोड्ने लिंक मार्ग बनाउन हो।
विमानस्थलमा काम गर्दा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको मापदण्डअनुसार काम गर्नुपर्ने हुँदा सोहीअनुसार नोटाम जारी गर्दै काम गर्न लागिएको अधिकारीको भनाइ छ। पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि नभइ त्रिभुवन विमानस्थलको क्षमता विस्तारको लागि यो काम भएको अधिकारीले बताए।
विमानस्थल सञ्चालनको समय घटाउँदा ३० प्रतिशतसम्म उडान कम हुने छ। तर यो पाँच महिनाको लागि मात्रै हो। विमानस्थल बन्दै गरेर काम गर्न हो भने २ महिनाको काम हो। तर विमानस्थल बन्द नगरी उडान कम गर्दै काम गर्न लागिएको प्राधिकरणको भनाइ छ।
पाँच महिना केही असहजता होला तर यसले दीर्घकालनमा ठूलो अवसर दिनेछ। पर्यटकीय सिजनको केही समयमा मात्रै विमानस्थल उडान समय कम हुने हो। धेरै समय पर्यटकका लागि तथा उडानका लागि अफसिजनमा नै काम गर्न लागेको प्राधिकरणले जनाएको छ। यो समयमा काम नगर्ने हो भने फेरि मनसुनमा काम गर्न नसकिने प्राधिकरणको भनाइ छ।
विमानस्थल सञ्चालनको लागि छोट्याइएको उडान समय जाडो महिनाको रहेको छ। यस समयमा अधिकांश विमानस्थलमा हुस्सु तथा कम भिजिबिलिटीका कारण नियमित सञ्चालन प्रभावित हुने गरेको छ। यसको चुनौती भने वायुसेवा कम्पनीहरू र विमानस्थललाई छ।