आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढ्दो

images
सोमबार, कात्तिक १२ २०८१
images
तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढ्दो

पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजा लोप हुँदै गए पनि धरानमा चाडवाडको समयमा भने मादलको बिक्री बढ्ने गरेको छ।

images
images

सुनसरी- तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ। नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण बाजाको रुपमा लिने गरिन्छ। पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजा लोप हुँदै गए पनि धरानमा चाडवाडको समयमा भने मादलको बिक्री बढ्ने गरेको छ।

images
images
images

धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताउँछन्। विगत १५ वर्षदेखि मादलसँगै खुकुरीको व्यापार गर्दै आएका अधिकारीले आफ्नो पसलमा एक हजार पाँचसय रूपैयाँदेखि पाँच हजार रूपैयाँसम्मका मादल बिक्रीका लागि राखिएको बताए।

images
images

उनले भने, 'मादल कहिले धेरै बिक्री हुने त कहिले बिक्री नै नहुने समस्या छ। तर, तिहारको समयमा राम्रै बिक्री हुन्छ। एकै दिनमा आठदेखि १० वटासम्म बिक्री हुने गरेको छ।'

images
images

उनका अनुसार लक्ष्मी पुजाको दिनदेखि मादल बेच्न भ्याइनभ्याइ हुन्छ। हाल उनले भोजपुर, धनकुटा साथै पश्चिममा बनाइएका मादलहरु बिक्री गर्दै आएका छन्।

धरान उपमहानगरपालिका-२ छाता चोकका सुमन चौधरी अरु समयको तुलनामा तिहारमा मादल धेरै बिक्री हुने गरेको बताउँछन्। विगत २० वर्षदेखि उनले मादलसँगै गितारलगायतका बाद्यवादनको व्यापार गर्दै आएका छन्।

उनले भने, 'आधुनिक परिवर्तनसँगै चाडपर्व र सांस्कृतिक कार्यक्रममा गीत संगीत, आधुनिक वाद्यवादन प्रयोग गर्न डिजिटल साउण्ड सिस्टम प्रयोग गर्नेहरु पनि अहिले मादल किन्न खोजी गर्दै आउने गरेका छन्।'

तिहारमा देउसी भैलो खेल्ने सांस्कृतिक टोलीहरूले बढी मादलको खरिद गर्ने गरेको उनको भनाइ छ। तिहारमा ३० देखि ४० वटासम्म मादल बिक्री हुने गरेको उनले बताए। उनले भने, 'अरु समयमा महिनामा २/४ वटा मात्र बिक्री हुने गरेको मादल तिहारको समयमा मात्र एक लाख रूपैयाँ बढीको बिक्री हुने गरेको छ।'

भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर, बेलटारलगायतका ठाउँमा मादल बिक्री गर्न जाने गरेको बताउँदै उनले पसलमा तीन हजारदेखि आठ हजार रूपैयाँसम्मका मादल बिक्रीका लागि राखिएको बताए।

विगत नौ वर्षदेखि मादलसँगै खुकुरी बेच्दै आएका इटहरी उपमहानगरपालिका-६ का भेषराज अधिकारीले तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताए। उनका अनुसार विशेषगरी सुनसरी र पूर्वी पहाड पाँचथर, तेह्रथुमलगायतका विभिन्न सहर र गाउँमा मादलको धेरै माग हुने गरेको छ। रासस


प्रकाशित : सोमबार, कात्तिक १२ २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend