आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

ठेकेदार भागेपछि इँटा उद्योगमा काम गर्न भारतबाट ल्याइएका ४४ मजदूर अलपत्र

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १२ २०८१
images
ठेकेदार भागेपछि इँटा उद्योगमा काम गर्न भारतबाट ल्याइएका ४४ मजदूर अलपत्र

सीता इँटा उद्योगबाट ११ बालबालिका, १५ महिलासहित ४४ भारतीय मजदूरको उद्धार गरेको जनाएको छ। प्रहरीले उद्धार गरी सदरमुकाम राजविराज ल्याएपछि इँटा व्यवसायीले खाना खुवाइरहेका छन्।

images
images

सप्तरी- यहाँको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदूर अलपत्रमा परेका छन्। उनीहरू हाल राजविराज नगरपालिका-३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन एक घरको भुइँमा बसेका छन्।

images
images
images

भारतको उत्तरप्रदेशस्थित सम्भल जिल्लाबाट १५ दिनअगाडि उनीहरूलाई ल्याइएको थियो। उनीहरूलाई ल्याउने ठेकेदार नै भागेपछि मजदूरहरू अलपत्र परेका हुन्।

images
images

भारतको उत्तरप्रदेश जिल्ला सम्भल थाना हजरनगरगढीका सोनु सागरले १२ दिन जसोतसो मलेकपुरस्थित सीता इँटा उद्योगमा बसे पनि ठेकेदार सम्पर्कमा नआएपछि अलपत्र परेको बताए। उनले भारतबाटै मो. जाकिर मियाँ नाम गरेको ठेकेदारले इँटा भट्टामा काम गर्न ल्याएको बताए। 

images
images

सोही ठाउँका अर्का मजदूर बोहरा सिँहले इँटा उद्योगमा १२ दिन बसेको तर मालिकले खाना दिन छाडेपछि तीन दिनदेखि राजविराजमा भोकै बसेको बताए। 'हामीसँग पैसा छैन, घर जाने पैसा पनि छैन। कसरी घर फर्किने भन्ने चिन्ता छ', उनले भने। 

जिल्ला प्रहरी कार्यालयले सीता इँटा उद्योगबाट ११ बालबालिका, १५ महिलासहित ४४ भारतीय मजदूरको उद्धार गरेको जनाएको छ। प्रहरीले उद्धार गरी सदरमुकाम राजविराज ल्याएपछि इँटा व्यवसायीले खाना खुवाइरहेका छन्। 

सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले मजदूरहरू ल्याउने फरार ठेकेदारको खोजी भइरहेको र उनीहरूलाई भारत पठाउने प्रयाससमेत भइरहेको जानकारी दिए। रासस


प्रकाशित : सोमबार, कात्तिक १२ २०८११०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend