खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीमा १९ वटा ट्रस भवन ठडिएका छन्। बीस घर भूकम्पपीडित र चार घर अन्य गरी २४ घर स्थानीय बासिन्दाका लागि भनेर निर्माण सुरु गरिएको ‘रामनाथ बहुउद्देश्यी एकीकृत बस्ती’ नामकरण गरिएको एकीकृत बस्तीका ट्रस भवन अहिले अलपत्र अवस्थामा छन्।
झ्यालढोका थुन्न तथा ट्रस भवनभित्रको भुइँ ढलान गर्न बाँकी रहेको यो बस्तीको दुईवटा ट्रस भवनमा मात्र अहिले मानिस बसेका छन्। ‘रामनाथ बहुउद्देश्य एकीकृत नमूना बस्ती’ नाम दिइएको एकीकृत बस्तीमा शौचालय र खानेपानीको व्यवस्था छैन।
विसं २०७७ मा उद्घाटन गर्नेगरी निर्माण सुरु गरिएको एकीकृत बस्तीमा दुई करोड रूपैयाँभन्दा बढी रकम खर्च भएको छ। सिङ्गल वाल (एउटामात्र इँटा प्रयोग गरिएको गाह्रो) लगाइएको आठ फिट अग्लो भवनमा फलामे ट्रस अड्याएर कमसल किसिमको (२७ एमएमको) जस्तापाताको छाना हालिएको छ।
करिब एक करोड ५० लाख रूपैयाँ लगानीमा पूरा हुने भनेर निर्माण सुरु गरिएको एकीकृत बस्तीका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरण भवन एकाइ डिभिजन कार्यालय ओखलढुंगाको ६० लाख रूपैयाँ र घेराबारका लागि तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश) सरकारको १५ लाख रूपैयाँ लगानी छ। बीस घर भूकम्पपीडितका तीन/तीन लाख रूपैयाँको जम्मा ६० लाख रूपैयाँ रकमसमेत सोही ठाउँमा खर्च गरिएको छ।
एकीकृत बस्ती निर्माणका लागि स्थानीय शारदाप्रसाद ढकालले करिब २५ लाख रूपैयाँ मूल्यको साढे सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्। नगरपालिकाको तर्फबाट आर्थिक सहयोगसँगै घडेरी सम्याउन, नक्सा निर्माण तथा पास गर्न र प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको थियो।
विभिन्न कार्यक्रम गर्न आवश्यक सामुदायिक भवनसमेत निर्माण गरिने भनिएको उक्त एकीकृत बस्तीमा बालबालिकाका लागि छुट्टै बाल उद्यान, कक्षा ५ सम्म पढाइ हुने अङ्ग्रेजी माध्यमको विद्यालय, मन्दिर, खेलमैदानलगायत रहने जनाइएको थियो। उक्त साँघुरो ठाउँमा अहिले बसोबासका लागि भनेर १९ ट्रस भवन र एउटा सामुदायिक भवनबाहेक कुनै संरचना निर्माण गरिएको छैन।
निर्माणाधीन एकीकृत बस्तीका लागि आवश्यक रकम अभाव भएकै कारण सञ्चालन गर्न नसकिएको निर्माण उपभोक्ता समितिका संयोजक प्रमेश ढकालले बताए।
'एकीकृत बस्तीका लागि आवश्यक सबै भौतिक संरचना निर्माण गरेका थियौँ, रकम अभावका कारण रंगरोगन र झ्यालढोका थुनथान गर्न बाँकी थियो', उनले भने, 'नगरपालिकाले करिब सात लाख रूपैयाँ बजेट उपलब्ध गराएको भए सञ्चालनमा ल्याउन सक्थ्यौँ, बजेट अभाव भएकै कारण सञ्चालनमा ल्याउन नसकेपछि अहिले लाभग्राहीको नाममा पास गर्ने काम भइरहेको छ।'
एकीकृत बस्तीमा सञ्चालन गर्ने भनिएको विद्यालयका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग काठमाडौंका डाक्टर नरेश रिमालले ५० लाख रूपैयाँ उपलब्ध गराएको जनाइएको छ।
काठमाडौंको झम्सीखेल निवासी डाक्टर रिमालले एकीकृत बस्तीका ट्रस भवनका लागि ३० लाख, आवश्यक फर्निचर निर्माणका लागि १० लाख र व्यवस्थापन खर्चका लागि बैंक खातामा १० लाख रूपैयाँ जम्मा गरेका थिए।
घरबासको अवधारणाअनुसार निर्माण गर्ने भनिएको एकीकृत नमूना बस्ती विसं २०७५ असोज ४ गते तत्कालीन नगर प्रमुख दीपनारायण रिजालले शिलान्यास गरेका थिए। नेपाल सरकारको अवधारणाअनुसार नगरपालिकाको पहलमा निर्माण सुरु गरिएको भनिएको एकीकृत नमूना बस्तीलाई देशकै नमूना बनाउने तत्कालीन नगर प्रमुख रिजालले दाबी गरेका थिए।
बसेरीमा निर्माण गरिएका एकीकृत बस्ती मापदण्ड विपरित रहेकाले सञ्चालनमा आउन नसकेको स्थानीय बासिन्दा एवम् नेपाली कांग्रेस विजयखर्कका सभापति सन्तोष राईले बताए। 'एकीकृत बस्ती भनेको मान्छे बस्नका लागि बनाइन्छ, बसेरीमा निर्माण गरिएका भौतिक संरचना हेर्दा एकीकृत बस्ती भएको छैन', उनले भने, 'एकीकृत बस्ती निर्माण गर्ने नाममा राज्य कोष र भूकम्पपीडितले पाउने रकम अनियमितता भएको छ, यसप्रति सम्बन्धित निकायले छानबिन गरेर कारबाही गर्नुपर्छ।'
निर्माणाधीन अवस्थामै अलपत्र बनेको एकीकृत बस्तीमा सर्ने सहमति गरेका विजयखर्कका भूकम्पपीडित अहिले विसं २०७२ बैशाख १२ गते गएको भूकम्पले चर्किएका आ-आफ्नै घर मर्मत गरेर बसिरहेका छन्।
बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीका भवन व्यक्तिका नाममा पास गरिए पनि भौतिक संरचना तथा सेवा सुविधा हेरेर उनीहरु त्यहाँ सर्ने मनसायमा नरहेको स्थानीय किसन भुजेलले बताए।
राज्य कोषको रकम खर्च गरेर निर्माण सुरु गरिएको बहुउद्देश्यीय एकीकृत बस्ती सञ्चालनमा अहिलेसम्म नगरपालिकाले समेत चासो दिएको छैन। रासस