बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

काभ्रेको तामाङ एकीकृत बस्ती बजेट अभावले दुई वर्षदेखि अलपत्र

images
बिहीबार , कात्तिक ८ २०८१
images
images
काभ्रेको तामाङ एकीकृत बस्ती बजेट अभावले दुई वर्षदेखि अलपत्र

बस्तीका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइए पनि रकम निकासा नहुँदा अलपत्र भएको हो।

images
images

काभ्रेपलाञ्चोक- मण्डनदेउपुर नगरपालिका-१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ।

images
images
images

बस्ती निर्माणको काम २०७४ सालमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी काम थालिएको थियो। ‘कोरोना-प्रभाव’लगायत कारण ढिलासुस्ती हुँदै आएको उक्त बस्ती निर्माण बजेट अभावले दुई वर्षदेखि रोकिएको हो।

योजनाअन्तर्गत ६ वटा घर बन्न बाँकी छन् भने बनेका घरहरुको ‘फिनिसिङ’ गर्न बाँकी छ। नमूना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो।

images

बजेट अभावमा दुई वर्षदेखि निर्माण रोकिएको निर्माण समितिले जनाएको छ। उक्त बस्ती निर्माण सम्पन्न हुनुअघि नै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको कामसमेत अलपत्र भएको हो। 

images

बाँकी काम पूरा गर्न नगर कार्यालयले ४० लाख रूपैयाँ सहयोग दिने जनाए पनि अघिल्लो आर्थिक वर्षदेखि नै रकम निकासा नहुँदा बस्ती निर्माणको काम रोकिएको हो। बस्तीका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइए पनि रकम निकासा नहुँदा अलपत्र भएको हो।

सरकारको योजनअनुसारनै तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होम-स्टे’सहितको नमूना तामाङ बस्तीको निर्माण थालिएको थियो।

नगरप्रमुख टोकबहादुर वाइबाले अघिल्लो चरणमा लगेको पेश्की फर्छ्यौट भएपछि मात्रै बस्तीको लागि निर्णय गरिएको रकम निकासा गर्न सकिने बताउँदै आएका छन्। यसअघि नगरले १० लाख रूपैयाँ सहयोग गरेको थियो। उक्त सहयोगबाट जस्तापातालगायत निर्माण सामग्री खरिदका कागजपत्र नगरमा पेस गरिएको समितिले जनाएको छ।

प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको निर्माण समितिका अध्यक्ष आइतमान तामाङले बताए।

केही वर्षअघिसम्म स्थानीयस्तरमै पटकपटक ५४ लाख रूपैयाँ ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको उनले बताए। प्राधिकरणबाट दुई करोड ८० लाख रूपैयाँ रकम निकासा भएको उनले जानकारी दिए। उनका अनुसार उक्त रकमबाट एकीकृत बस्तीमा पहुँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउन खर्च भएको छ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुरस्थित तीनधारामा तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होमस्टेसहितको नमूना तामाङ बस्ती निर्माण सुरु गरिएको थियो। तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण गर्न जनश्रमदान बाहेक १३ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। बस्ती निर्माणार्थ जनश्रमदानमा पनि स्थानीय निकै महिना खटेका थिए। स्थानीय युवा विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत साथ दिएका बताए।

स्थानीय पञ्चकुमारी तामाङ पनि एकीकृत बस्ती निर्माण सुरु भएपछि डेढसय दिन खटिएकी थिइन्। 'गाउँमा एकै ठाउँमा चिटिक्कका घर बनाएर बस्ने र पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले काम गर्न जान्थ्यौँ, पैसा छैन भनेर काम रोकिएको  दुई वर्ष भैसक्यो', पञ्चकुमारीले भनिन्।

उनले आफूलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको ५० हजार रूपैयाँ पनि प्राधिकरणको सहमतिअनुसार नै पाँच वर्षअघि नै बस्ती निर्माणका निम्ति प्रदान गरेकी थिइन्। त्यसपछि सरकारसँग सम्झौता गरी तीनधाराका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् नामक संस्थाले बाँकी किस्ता उपलब्ध नगराएपछि ऋण लिएर स्थानीयले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए।

विसं २०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा एक करोड ४० लाख रूपैयाँ निकासा हुँदा ऋणले पिरोलिएका तीनधाराका बासिन्दाले कामलाई तीव्र पारेका थिए। बस्ती निर्माणका लागि स्थानीय ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको ५० हजार रूपैयाँ पनि खर्चिइएको हो। बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होमस्टेका लागि एउटा कोठा व्यवस्था गर्नुपर्ने सम्झौता भएको थियो।

नमूना बस्तीमा ४० लाख रूपैयाँमा एक सामुदायिक भवन निर्माण भएको छ। उक्त सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा, तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङग्रोलगायतका सामाग्री सङ्ग्रह गरिने तथा तिनका बारेमा जानकारी दिने योजना थियो।

६ घरको एक ‘ब्लक’ बनाएर छुट्टाछुट्टै पाँच ब्लकमा ३० वटा घर बनाउने योजनाले पूर्णता नपाउँदा तीनधाराका बासिन्दा खिन्न भएका छन्। रासस


प्रकाशित : बिहीबार , कात्तिक ८ २०८१११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend