बिहीबार , मंसिर २७ गते २०८१    
images
images

ढोरपाटन बुकी : प्राकृतिक दृश्यपानका लागि उपयुक्त गन्तव्य

images
मंगलबार, असोज २९ २०८१
images
images
ढोरपाटन बुकी : प्राकृतिक दृश्यपानका लागि उपयुक्त गन्तव्य

एक दशक अगाडिसम्म बर्खामा भेडा र भेडीगोठले भरिने बुकी क्षेत्रमा अहिले पर्यटकको चहलपहल बढ्न थालेको छ।

images
images

बागलुङ- अग्ला पहाडको शिरमा टक्क अडिएका समथर भू-भाग। कतै भिराला डाँडा, त कतै खोल्साखोल्सी। चारैतिर हरियाली। उत्तरतिर हेताम्य हिमाल। टाढा-टाढा छरिएर रहेका भेडीगोठ।

images
images
images

भेडा र बाख्राका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन्। ढोरपाटनको बुकी हिजोआज चर्चामा छ। एक दशक अगाडिसम्म बर्खामा भेडा र भेडीगोठले भरिने बुकी क्षेत्रमा अहिले पर्यटकको चहलपहल बढ्न थालेको हो।

images

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन यसै पनि चर्चित छ। त्यसमाथि आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आगमनले यसको प्रचारले व्यापकता पाएको हो। प्राकृतिक सुन्दरताले परिपूर्ण ढोरपाटन धेरैको रोजाइमा परेको छ। ढोरपाटनसँगै पछिल्लो समय बुकी पनि पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ। गत वर्षसम्म बुकी जाने पर्यटक निकै कम थिए।

images

बुकी पुगेका पर्यटकले त्यहाँको भिडियो तथा तस्बिर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाएपछि भाइरल बन्यो। अहिले ढोरपाटन पुग्ने पर्यटक बुकीमा पुग्न चाहन्छन्। दशक अगाडिदेखि नै ढोरपाटन उपत्यका क्षेत्रमा फाट्टफुट्ट पर्यटक पुगे पनि अहिले बर्सेनि हजारौँको सङ्ख्यामा आउने गरेका छन्। ढोरपाटन उपत्यका समुन्द्री सतहदेखि करिब २९ सय मिटरको उचाइ पर्छ।

ढोरपाटन उपत्यकादेखि बुकी पुग्न पैदल यात्रा गर्नुपर्छ। पैदल यात्रामार्फ बुकीमा तीनदेखि पाँच घण्टामा पुग्न सकिन्छ। २९ सयदेखि ४५ सय मिटरको उचाइमा रहेको बुकी क्षेत्र गोठालाको बासस्थान हो। यहाँ सयौँको सङ्ख्यामा गोठालाहरु अस्थायी गोठ बनाएर बसेका हुन्छन्। उनीहरुको हजारौँ भेडाबाख्रा, गाईभैँसी हुन्छन्। 

बर्खाको समयमा बढी चहलपहल हुने बुकी क्षेत्र हिउँदमा भने सुनसान हुन्छ। बर्खायाममा बुकी पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौँ हिमशृङ्खलाको दृश्यावलकन गर्न सक्छन् भने नजिकबाट गोठालाको जनजीवन अनुभूति गर्न सक्छन्। बागलुङको उच्च पहाडी क्षेत्र पर्ने बुकी निकै मनमोहक छ।

प्रचारप्रसारको अभावमा आझेलमा परेको बुकी पछिल्लो समय पर्यटक पुग्न थालेपछि व्यापक प्रचार हुन थालेको छ। त्यसले गर्दा एकै महिनामा सयौँ आन्तरिक पर्यटक बुकी चढ्ने गरेको ढोरपाटन नगरपालिका-९ का व्यवसायी सन्देश थापाले बताए। गत असारदेखि हालसम्म ८० समूहका करिब पाँच सय पर्यटकलाई आफूले मात्रै बुकीमा बास दिएको उनको भनाइ छ।

बुकीमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायत थुप्रै ठाउँ पर्छन्। बुकी पुग्ने पर्यटक गोठालाको गोठमा बास बसेर फर्किने गरेका छन्। यस वर्षदेखि बुकी पुग्ने पर्यटकका लागि लक्षित आफूले गोठस्टे (गोठबास) सञ्चालन गरेको उनको भनाइ छ। बुकीमा टाढा-टाढाबाट पर्यटकहरु पुग्ने र त्यहाँ बास बस्नका र खानाको व्यवस्था नभएको हुँदा गत असार २९ गतेदेखि गोठस्टे सञ्चालन गरेको थापा बताउँछन्।

बुकी पुग्ने पर्यटकले हरिया पाटनहरु, गोठलो जीवन, धौलागिरि, माछापुच्छ्रे, पुठा हिमचुली, चुरेन, गुर्जा अन्नपूर्ण हिमशृङ्खला अवलोन गर्न सक्ने उनको भनाइ छ। बुकी चढ्ने सिजन जेठदेखि कात्तिक पहिलो साता भएको थापा बताउँछन्।

थापाले भने, 'बुकी त ढोरपाटनवासीको पशु चरन क्षेत्र हो, यो ठाउँ निकै मनोरम छ, अहिल जति पनि ढोरपाटन उपत्यकामा पर्यटक आउनुहुन्छ, उहाँहरुले यहाँको कुनै महसुस गर्न सक्नुभएको छैन, ढोरपाटन घुम्ने र रम्ने हो भने बुकीमा एकपटक पुग्नै पर्छ, गत वर्षसम्म त खासै मान्छे आउँदैनथे, फाट्टफुट्ट आएका पर्यटकले ‘भिडियो’ र फोटो खिचेर जानुभयो, ती भिडियो र फोटो भाइरल भएपछि अहिले बुकीमा आउने मान्छेको चाप बढेको छ।'

कात्तिकदेखि चिसो बढ्ने हुँदा जेठसम्म बुकी सुनसान हुन्छ। गोठाला पनि बेँसी झर्ने हुँदा पर्यटक पनि बुकी उक्लिँदैनन्।

ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले ढोरपाटन आउने पर्यटकको रोजाइमा बुकी पर्न थालेको बताए।पाँच वर्षदेखि ढोरपाटन उपत्यकामा आउने पर्यटकको सङ्ख्या बढेको भन्दै पोहोर सालदेखि त बुकीमा समेत जान थालेको उनको भनाइ छ। बुकी चढ्ने पर्यटकलाई लेक लाग्ने हुँदा आफूहरुले प्राथमिक उपचारका विधि सिकाउने र बेँसीबाट आएकाहरुलाई एकैपटक बुकी नचढ्न सुझाउने गरेको पुन बताउँछन्। यसै बर्खा लागे सयौँको सङ्ख्यामा पर्यटक बुकी उक्लिएको उनको भनाइ छ।

'बुकीमा यति धेरै पर्यटक जालान् भन्ने लागेको थिएन तर नपत्याउँदो तरिकाले पर्यटक दिनदिनै बुकी उक्लिएको पाएका छौँ, शुक्रबार र शनिबार सबैभन्दा बढी पर्यटक बुकी जान्छन्, बुकी घुम्न र रमाउनका लागि निकै सुन्दर छ तर त्यहाँ जाँदा धेरै कुरामा ख्याल राख्नु पर्छ,' अध्यक्ष पुनले भने, 'चार/पाँच घण्टा यात्रा गर्नुपर्छ, यात्रा गर्दा लेक पनि लाग्न सक्छ, अति आवश्यक सामानहरु छुटाउनु हुँदैन, अब ढोरपाटन उपत्यकामा आउने धेरै पर्यटक बुकी पुग्ने देखियो, हामीहरुलाई पनि पर्यटकको आगमनले धेरै खुसी बनाएको छ।'

गलकोटबाट घुम्न आएकी समिता अर्गेजाले बुकी मनमोहक रहेको बताइन्। ढोरपाटन उपत्यकादेखि पाँच घण्टाको यात्रा गर्दा थकाइ लागेको सुनाउँदै बुकी पुगेपछि देखिएको दृश्यले एकै छिनमा थकान मेटाएको उनको भनाइ छ।

अर्गेजाले चारजनाको टोली गएको भन्दै बुकी पुग्ने ठाउँ-ठाउँमा सूचना बोर्ड राखे बाहिरबाट आउने पर्यटकलाई ठाउँ पहिचान गर्न सहज हुने बताइन्। बुकी प्रचारप्रसार गर्न सके देशै उत्कृष्ट पर्यटकी गन्तव्य बन्नेमा दुई मत नभएको उनी बताउँछिन्। रासस


प्रकाशित : मंगलबार, असोज २९ २०८११०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend