शुक्रबार, वैशाख १४ गते २०८१    
images
images
सवारी प्रदूषण मापदण्ड स्तरोन्नती 

युरो ६ लागु गर्ने तयारी, युरो ४ को फाइल फिर्ता गर्दै युरो ६ को मापदण्ड ल्याउन मन्त्रीको निर्देशन

images
images
images
युरो ६ लागु गर्ने तयारी, युरो ४ को फाइल फिर्ता गर्दै युरो ६ को मापदण्ड ल्याउन मन्त्रीको निर्देशन

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले बिहीबार युरो ४ को सट्टा युरो ६ सरहको मापदण्ड पेस गर्न निर्देशन दिएका हुन्। 

images
images

काठमाडौं- सरकारले नेपालमा आयात हुने सवारीसाधन युरो ६ (बीएस सिक्स) सरहको प्रदूषण मापदण्ड लागु गर्ने तयारी गरेको छ। युरो ४ सरहको वातावरण विभागले तयार गरेको ‘नेपाल प्रदूषण मापदण्ड २०७८’ फिर्ता गर्दै वन तथा वातावरण मन्त्रालयले त्यसमा युरो ६ को व्यवस्था गरेर ल्याउन भनेको हो। 

images
images
images

वातावरण विभागले व्यावसायिक चलखेलका आधारमा तत्काल युरो ४ सरहको मापदण्ड लागु हुने र दुई वर्षपछि युरो ६ लागु हुने भन्दै मन्त्रालयमा पेस गरेको थियो। तर वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले बिहीबार युरो ४ को सट्टा युरो ६ सरहको मापदण्ड पेस गर्न निर्देशन दिएका हुन्। 

images

बिहीबार मन्त्रालयमा छलफलका क्रममा मन्त्री यादवले युरो ४ को मापदण्ड पेस भएकाले त्यसलाई बदलेर युरो ६ सरहको ल्याउन निर्देशन दिएको मन्त्रालय उच्च स्रोतले जानकारी दियो। ‘वातावरण विभागले युरो ४ सरहको मापदण्ड लागु गर्ने भन्दै प्रस्ताव ल्याएको थियो। त्यहीअनुसार सहसचिवहरूले व्याख्या गरेका थिए,’ उच्च स्रोतले भन्यो, ‘नेपाल आयात हुने सबै सवारी युरो ६ सरह हुनुपर्छ भन्ने मन्त्रीज्यूको राय छ। त्यसमा पनि मोटरसाइकल र कारमा त अनिवार्य युरो ६ हुनुपर्छ र कमर्सिलयमा क्रमिक रुपमा लागु पर्न सकिन्छ।’   

images

सरकारले २०६९ सालमा सवारी प्रदूषण मापदण्ड लागु गरेको थियो। उक्त मापदण्डअनुसार युरो ३ वा बीएस ३ सरहका सवारी आयात गर्न पाइने व्यवस्था हालसम्म कायम छ। सो मापदण्ड लागु गर्दा दुई वर्षपछि युरो ४ मा जाने सहमति भएको थियो। 

images
images

तर व्यावसायिक चलखेल र सरकारी अकर्मण्यताका कारण हालसम्म प्रदूषण मापदण्ड परिमार्जन हुन सकेको छैन। २०७६ मै वातावरण विभागले प्रदूषण मापदण्ड स्तरोन्नतीको तयारी गरेर मन्त्रालयमा पठाएको थियो। उक्त मापदण्डमा युरो ४ अवलम्बन गर्ने निर्णय भएको थियो। विविध कारणले त्यतिबेला नयाँ मापदण्ड लागु हुन सकेन। 

सो मापदण्ड लागु हुन नसकेपछि २०७७ मा वातावरण मन्त्रालयले पुनः नयाँ मापदण्डमा जाने गरि प्रस्ताव तयार पर्‍यो। २०७७ मा बनेको मापदण्डमा मोटरसाइकल तथा स्कुटर र कार आयातमा युरो ६ र कमर्सियल सवारीमा युरो ४ मापदण्ड लागु पर्ने गरि वातावरण विभागले प्रस्ताव तयार गरेको थियो। सो प्रस्ताव तयार गर्दा विभागले सवारी व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल तथा वातावरण विज्ञहरूसँग छलफल गरेको थियो। 

सो छलफलमा भारतले समेत युरो ६ (बीएस ६) अवलम्बल नगरिसकेकाले नेपालले आयात गर्ने सवारीमा युरो ६ सरह नै जानुपर्नेमा सबै सहमत भएका थिए। आयातमा आधारित भएकाले कम प्रदूषण गर्ने सवारी आयात गर्नुपर्नेमा जोडसमेत दिइएको थियो। 

केही मोटरसाइकल आयातकर्ता र कार आयातकर्ताहरूले अहिले युरो ४ सरहको मात्र मापदण्ड लागु हुनुपर्ने लबिङ गर्दै आएका छन्। युरो ४ का सवारी ल्याएर युरो ६ सरहको मूल्यमा बिक्री गरिरहेका ती आयातकर्ताहरू मूल्य बढ्ने बहाना बनाएर राजनीतिक प्रभावमा युरो ६ मा जान नहुने भन्दै आएका छन्। 

यता वन तथा वातावरणमन्त्री यादव भने तत्काल प्रदूषण मापदण्ड स्तरोन्नति गरि लागु गर्नुपर्ने पक्षमा रहेका छन्। मन्त्री यादवले सोही अनुसार वातावरण विभाग र मन्त्रालयका अधिकारीहरूलाई निर्देशनसमेत दिइसकेका छन्। उक्त कुरा थाहा पाएसँगै अहिले विशेष गरि मोटरसाइकल र कारमा पनि युरो ४ मात्र लागु गर्नुपर्ने पक्षमा रहेका व्यवसायीहरू उच्च राजनीतिक नेतृत्व, यातायात व्यवस्था विभाग र अर्थ मन्त्रालयल पुगेर युरो ६ आवश्यक नरहेका भन्दै लबिङ सुरु गरिसकेका छन्। 

संख्यात्मक आधारमा नेपालमा सबैभन्दा धेरै मोटरसाइकल र कारको प्रयोग हुँदै आएको छ। त्यस्तै हरेक वर्ष यी नै वर्गका सवारीसाधन धेरै बिक्री हुँदै आएको छ। त्यसैले कमर्सिलय सवारीमा अहिले कायम रहेको मापदण्डमा एक तह माथि लगे पनि मोटरसाइकल र कारमा भने युरो ६ नै लागु गर्नुपर्ने आवश्यकता वातावरण विभागले समेत औंल्याउँदै आएको छ। 

वायु प्रदूषणमा सवारी साधनको महत्वपूर्ण भूमिका रहेकाले समयानुकुल मापदण्ड परिमार्जन गर्दै जानु पर्ने वायु प्रदूषण विज्ञ भुपेन्द्र दासले बताए। ‘सरकारले हाम्रो वायुलाई थप प्रदूषित हुन नदिन नयाँ सवारी प्रदूषण मापदण्ड छिटो भन्दा छिटो कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ।’ 

नेपाल आयात हुने अधिकांश सवारी भारतमा उत्पादन हुने भएकाले युरो ६ (बीएस ६) सरह सवारी आयातमा समस्या देखिँदैन। भारत सरकारले २०२० अप्रिल १ देखि नै बीएस ६ कार्यान्वयनमा ल्याएको हो। अहिले पनि भारतबाट आयात हुने अधिकांश सवारी युरो ६ सरह नै आयात भइरहेका छन्। 

मापदण्ड परिमार्जन नहुँदा व्यवसायीले मुनाफा त आर्जन गर्लान तर राज्यले प्रदूषणमा ठूलो मूल्य चुकाउनु परेको र यो अझै बढ्ने एक व्यवसायीले बताए। वायु प्रदूषण धेरै हुनुमा सवारीसाधनको ठूलो भूमिका हुने गरेको छ। प्रदूषण मापदण्ड स्तरोन्नती नहुँदा एकातर्फ प्रदूषण बढ्नमा ठूलो भूमिका छ भने अर्कोतर्फ नेपाल सवारी उत्पादक कम्पनीको ‘डम्पिङ साइड’ बनिरहेको छ। 

सरकारले २०५६ मा पहिलोपटक वातावरण नियमावली २०५४ कार्यान्वयनमा आएपछि ‘नेपाल प्रदूषण मापदण्ड २०५६’ लागु गरेको थियो। उक्त मापदण्ड युरो १ सरह थियो। सो मापदण्ड २०६९ सालमा परिमाार्जन भएर ‘नेपाल सवारी प्रदूषण मापदण्ड २०६९’ लागु भयो। यो युरो ३ सरहको मापदण्ड हो। 

यो पनि - कार र मोटरसाइकलमा युरो ६ को तयारीबाट ४ मै फर्काउन लबिङ

 

images

प्रकाशित : शुक्रबार, पुस ३० २०७८०९:३१

प्रतिक्रिया दिनुहोस