काठमाडौं- सन् २०२४ को ९ महिनामा विदेशी पर्यटक आगमन १५ दशमलव २१ प्रतिशतले बढेको छ।
नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको सेप्टम्बरसम्ममा ८ लाख १६ हजार ६ सय ३९ विदेशी पर्यटक नेपाल आएका छन्।
जसमा सेप्टेम्बर महिनामा मात्रै ९६ हजार ३ सय ५ पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२ पर्यटक नेपाल भ्रमणमा आएका थिए।
सन् २०२३ को ९ महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ६ लाख ९२ हजार ३ सय ७२ जना रहेको थियो।
सन् २०२४ को सेप्टेम्बरमा नेपाल भ्रमणमा आएका पर्यटक २०१९ को भन्दा पनि बढी हो। २०१९ को सेप्टेम्बरमा ९२ हजार ६ सय ४ पर्यटक नेपाल भ्रमणमा आएका थिए।
सन् २०२४ को सेप्टेम्बरमा भारतबाट सबैभन्दा बढी २२ हजार ९ सय ८४ पर्यटक नेपाल भ्रमणमा आएका छन्।
यसैगरी अमेरिकाबाट १० हजार ८४ जना, चीनबाट ८ हजार ४२, अष्ट्रेलियाबाट ५ हजार ३८ र श्रीलंकाबाट ४ हजार ९ सय १५ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए।