काठमाडौं- वायुसेवा सञ्चालकहरूले विपद्को समयमा यात्रुलाई राहत दिन आउँदो तीन दिनसम्मको टिकटमा 'अपर फेयर' लागु नगर्ने भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच भएको छलफलमा तीन दिनसम्मको टिकटमा अपर फेयरको टिकट बिक्री नगर्ने निर्णय भएको छ।
संघका अध्यक्ष मनोज कार्कीका अनुसार सोमबार, मंगलबार र बुधबारको हवाई टिकटमा अब अपर फेयर लागु नहुने भएको हो।
प्राधिकरण महानिर्देशक ई. प्रदीप अधिकारीको पहलमा आज आइतबार संघसँग छलफल भएको थियो। छलफलमा अधिकारीले विपदमा सहयोग गर्न संघलाई आग्रह गरेका थिए।
महानिर्देशको आग्रहलाई स्वीकार गर्दै अपर फेयरको हवाई भाडा लागु नगर्ने गरी निर्णय भएको कार्कीले बताए। हरेक उडानको १५ देखि २० प्रतिशत टिकट अपर फेयरमा बिक्री हुँदै आएकोमा दुई दिन त्यो फेयरको टिकट जारी नहुने उनको भनाइ छ।
उदाहरणका लागि कुनै गन्तव्यमा ९ हजार रुपैयाँ अधिकतम अपर फेयर भाडा थियो भने अब त्यस्तो टिकट पनि ५५ सय रुपैयाँकै हाराहारीमा आउने छ।
यसैगरी संघले महानिर्देशकसँग यात्रु सेवाशुल्क, पार्किङ तथा ल्याण्डिङ शुल्कमा पनि छुट दिन माग गरेका छन्। साथै आयल निगमले बढी नाफा लिएर इन्धन बिक्री गरिरहेको हुँदा त्यसमा पनि केही छुट हुने हो भने टिकट अझ सस्तो हुने कार्कीले बताए।