आइतबार, मंसिर ९ गते २०८१    
images
images

विपद्‍मा एयरलाइन्सले अधिकतम भाडा असुलेपछि प्राधिकरणले बोलायो छलफल

images
आइतबार, असोज १३ २०८१
images
images
विपद्‍मा एयरलाइन्सले अधिकतम भाडा असुलेपछि प्राधिकरणले बोलायो छलफल

दसैँतिहार र चाडपर्वको मौकामा जस्तो गरेर एयरलाइन्सले विपदतमा अधिकतम भाडा राखेर नाफा खाने आचरण देखएको भन्दै  आइतबार बिहानैदेखि सर्वसाधारणले आलोचना गरिरहेका छन्।

images
images

काठमाडौं- राजमार्ग अवरुद्ध भएर सडक यातायात करिब ठप्प भएको अवस्थालाई अवसरका रुपमा लिएर एयरलाइन्सहरूले अधिकतम भाडा असुल गरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले छलफलका लागि बोलाएको छ। 

images
images
images

यात्रालाई सहज बनाउनेभन्दा पनि नियमित सामान्य अवस्थाको जस्तै अधिक भाडा लिएपछि त्यसलाई नियन्त्रण गर्नका लागि प्राधिकरणले एयरलाइन्सका सञ्चालकहरूलाई छलफलमा बोलाएको हो। 

images

आजका लागि अधिकांश गन्तव्यका टिकट बिक्री भइसकेकाले भोलिका लागि अब भाडा सहजीकरण गर्न भन्दै प्राधिकरणले छलफलमा बोलाएको हो। आज २ बजे प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले अपरेटरहरूलाई बोलाएका हुन्। 

images

राजमार्ग अवरुद्ध भएर सडक यातायात ठप्प भएको र यात्रुहरू धेरैतिर अलपत्र परेको समयमा एयरलाइन्सहरूले नियमित फ्लोटिङ अवधारणामा माग र आपूर्तिको आधारमा टिकटको दर निर्धारण गरेका छन्। यही कारणले देशका सबै गन्तव्यको भाडा अधिकतम पुगेको छ। 

दसैँतिहार र चाडपर्वको मौकामा जस्तो गरेर एयरलाइन्सले विपदतमा अधिकतम भाडा राखेर नाफा खाने आचरण देखएको भन्दै  आइतबार बिहानैदेखि सर्वसाधारणले आलोचना गरिरहेका छन्।

यस्तोमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर अपरेटरहरूलाई बोलाएर छलफल गर्ने भएको हो। सडक यातायात सामान्य नहुँदासम्म भाडालाई एउटा निश्चित बिन्दुमा राख्न निर्देशन दिने प्राधिकरणको तयारी छ।

हवाई टिकटको मूल्य एयरलाइन्स कम्पनीले सरकारबाट अनुमति पाएकोभन्दा एक रुपैयाँ पनि बढी भाडा नलिएको र लिन पनि नमिल्ने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए। विपतको बेलामा पनि एयरलाइन्स कम्पनीले नियमभन्दा माथि गएर भाडा नलिएको उनको तर्क छ। 

उनका अनुसार बुद्ध एयरको हकमा सामान्य अवस्थामा पनि १५ प्रतिशतसम्म टिकट अधिकतम भाडामा नै बिक्री हुने गरेको र अहिले १५ बाट बढेर ३० पुगेको हो। तर सबै टिकटमा अधिकतम भाडा तय भएको छैन।  चाप भएको बेला हवाई टिकटमा जसले अन्तिम समयमा लिन्छ उनीहरु स्वभाविक रुपमा महँगोमा पनि पर्ने उनको तर्क छ।

विपदमा राज्यले गर्नु पर्ने काम गर्ने हो भने एयरलाइन्सको भाडा घटाउन कुनै समस्या नहुने उनको तर्क छ। यात्रु सेवा शुल्क भनेर सरकारले लिएको रकम सरकारले नलिने घोषणा गर्ने हो भने एयरलाइन्स कम्पनीले तत्काल भाडा रकमबाट घटाउने उनको भनाइ छ। 

साथै सरकारले इन्धन नि:शुल्क दिने हो भने इन्धन फेयर आफूहरूले शून्य बनाउने बस्नेतले बताए। यसैगरी सरकारी तवरबाट पार्किङ, ल्यान्डिङ तथा अन्य शुल्क घटाउने हो भने एयरलाइन्स कम्पनीले तत्काल भाडा घटाउने उनको भनाइ छ।


प्रकाशित : आइतबार, असोज १३ २०८१११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend