शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सिटिजन्स बैंकको स्मार्ट हब सञ्चालनमा, असोजभर डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने

बुधबार, असोज २ २०८१
सिटिजन्स बैंकको स्मार्ट हब सञ्चालनमा, असोजभर डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने

यस्ता डिजिटल प्रोत्साहित कारोबार अभियानबाट समग्र बैंकिङ क्षेत्रमा नै डिजिटल बैंकिङको विकास हुने विश्वास बैंकको छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप आफ्नो कर्पोरेट कार्यालयको प्रांगणमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ। बैंकमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो हब सार्वजनिक गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिन बाट प्राप्त गर्ने सुविधाबाट ग्राहकहरु डिजिटल कारोबारमा अभ्यस्त हुनुका साथै समग्र डिजिटल बैंकिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

साथै उनले हाललाई कर्पोरेट कार्यालयबाट सुरु गरिएको यस्तो सेवा आगामी दिनमा देशका अन्य स्थानहरुबाट समेत सञ्चालन गरिने योजना रहेको समेत बताए।

स्मार्ट हबमा राखिएका मेसिनहरु जस्तै चेक जम्मा गर्ने मेसिनबाट ग्राहकहरुले क्लियरिङ चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलब्ध छ भने क्यास डिपोजिट मेसिनबाट एक हजार र पाँचसय दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधासमेत छ।

डिजिटल बैंकिङ सेवा सिटिजन्स बैंकको सधैँ प्राथमिकतामा रहेको छ र यसैको निरन्तरता स्वरुप बैंकले असोज महिनाभर 'सिटिजन्स डिजिटल महिना' उत्सव सञ्चालन गर्ने जनाएको छ।

यस अवसरमा फोनपेसँगको सहकार्यमा बैंकले विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेको छ। जसमा मोबाइल बैंकिङ प्रयोग गरी हवाई टिकट खरिद गर्ने यात्रुहरूलाई चारसय रूपैयाँसम्म क्यासब्याक प्राप्त हुनेछ।

यस्तै बडादशैँमा बैंकको मोबाइल बैंकिङ प्रयोग गरी डिजिटल दक्षिणा दिँदा सो कारोबारमा एकसय रूपैयाँसम्म क्यासब्याक प्राप्त हुनुका साथै चाडपर्वमा गरेको पहिलो मोबाइल बैंकिङ कारोबारमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक प्राप्त हुने बैंकले जनाएको छ।

बैंकका अनुसार 'दशैँमा चलाउ सिटिजन्स कार्ड' अभियानमा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याक अफर प्राप्त हुनुका साथसाथै 'डिजिटल रेमिटेन्स प्राप्ति अभियान' मा मोबाइल बैंकिङमार्फत प्राप्त गरिएको रेमिट्यान्समा आकर्षक क्यासब्याक प्राप्त हुनेलगायत अन्य आकर्षक अफरहरु समावेश गरिएका छन्।

यस्ता डिजिटल प्रोत्साहित कारोबार अभियानबाट समग्र बैंकिङ क्षेत्रमा नै डिजिटल बैंकिङको विकास हुने विश्वास बैंकको छ। 

बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक 'सिटिजन्स भर्चुअल क्रेडिट कार्ड' सञ्चालनमा ल्याएको छ। भौतिक कार्डबिना नै मोबाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता यसमा छ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट करिब १८ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ।


प्रकाशित : बुधबार, असोज २ २०८११२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend