बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

धितोपत्र बोर्डको कार्यकारी जिम्मेवारी लिएर सिन्को नभाँच्ने महेश बराल, विदेश भ्रमण भने जस्तोमा पनि जान्छन्

बुधबार, भदौ २६ २०८१
धितोपत्र बोर्डको कार्यकारी जिम्मेवारी लिएर सिन्को नभाँच्ने महेश बराल, विदेश भ्रमण भने जस्तोमा पनि जान्छन्

नयाँ अध्यक्ष नियुक्त नभएको अवस्थामा अर्थ मन्त्रालयले अध्यक्ष पठाउने व्यवस्थाअनुसार पछिल्लो समय बराल अध्यक्ष छन्।

काठमाडौं- पुँजी बजारको नियामक धितोपत्र बोर्डको कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी पाएका सहसचिव महेश बरालले संस्थाको काम नगरेपनि विदेश घुम्न भने जस्तोसुकै भ्रमण पनि नछाड्ने गरेको पाइएको छ। 

गएको साउन ३ गते बोर्डको अध्यक्षको जिम्मेवारी पाएका बरालले अघि बढाउनुपर्ने काममा रुचि दिएका छैनन्। बोर्डमा अहिले पनि दर्जनौँ कम्पनीका सार्वजनिक निष्कासनसँग सम्बन्धित फाइल पेन्डिङ रहेका छन्। 

पुँजी जुटाएर व्यवसाय विस्तारको योजनामा रहेका व्यवसायीहरू आफ्नो फाइलका बारेमा हुने निर्णयको पर्खाइमा छन् भने अर्कोतिर नौ महिनादेखि बोर्डमा पार्टटाइम अध्यक्षले चलेको छ। नयाँ अध्यक्ष नियुक्त नभएको अवस्थामा अर्थ मन्त्रालयले अध्यक्ष पठाउने व्यवस्थाअनुसार पछिल्लो समय बराल अध्यक्ष छन्। 

पार्टटाइम अध्यक्षको रुपमा बरालले पछिल्लो दुई महिनादेखि जिम्मेवारी लिएका छन्। उनले यो बीचमा एउटा कम्पनीलाई लाइसेन्स दिनेबाहेक अरु कुनै पनि काम गरेका छैनन्। 

कर्मचारीको आन्दोलन सामना गरिरहेको 'सेबी'सँग द्विपक्षीय वार्ता गर्न भन्दै  धितोपत्र बोर्डका अध्यक्ष बरालसहित १० जना भारत भ्रमणमा जाँदै कर्मचारीको आन्दोलन सामना गरिरहेको 'सेबी'सँग द्विपक्षीय वार्ता गर्न भन्दै  धितोपत्र बोर्डका अध्यक्ष बरालसहित १० जना भारत भ्रमणमा जाँदै

बोर्डको अध्यक्षको जिम्मेवारी पाएदेखि बरालले नियमित फाइल बढाउन चासो दिएका छैनन्। शक्तिकेन्द्रको स्वार्थ र निर्देशनबाहेक नियमित काम नगर्ने यसअघिका अध्यक्षको जिम्मेवारी पाएका नरेन्द्र राणाजस्तै काममात्र बरालले पनि गरेका छन्। बरालले यो बीचमा हिमालयन मर्चेन्ट बैंकलाई लाइसेन्स दिनेबाहेक अरु कुनै पनि फाइल अघि बढाउन चासो दिएका छैनन्। 

बोर्डका फाइल अघि बढाउने सवाल आउँदा मैले बुझेको छैन भनेर पन्छिने तर विदेश भ्रमण भन्नेवित्तिकै उछिट्टिएर जान खोज्ने प्रवृत्ति बरालमा देखिएको अर्थकै कतिपय कर्मचारी बताउँछन्। ‘माथिका मान्छेको आदेश अनुसारमात्र काम गरेपछि कतैबाट प्रश्न नउठ्ने र अरु काममा चासो नदिने उहाँको प्रवृत्ति देखियो। कि सरकारले पठाएको ठाउँमा गएपछि काम त गर्नुपर्‍यो’ अर्थका एक अधिकारीले भने।

कर्मचारी आन्दोलन चर्किएर अशान्त बनेकै भारतीय धितोपत्र बजारको नियामक सेबीको निमन्त्रणमा बरालकै नेतृत्वमा १० सदस्यीय भ्रमण टोली आइतबार मुम्बई गएको छ। उनले अर्थ मन्त्रालयकै कर्मचारीलाई पनि बोर्ड सदस्यसरहकै पाँचतारे सुविधामा भ्रमणमा लगेका छन्। फलदायी नहुने भ्रमणमा पनि सहसचिवमात्र होइन नियामकीय अध्यक्षको जिम्मेवारीमा रहेका मान्छे जानु स्वभाविक होइन। 

यतिमात्र होइन बरालले अध्यक्षको जिम्मेवारी पाएदेखि कोर फाइलभन्दा पनि यस्तै भ्रमणमा चासो दिने गरेका छन्। यसपछि जाम्बियामा हुने भ्रमणमा पनि उनले आफूलाई सिफारिस गरेका छन् भने त्यस्तै अन्य देशमा आफूलाई साथ दिने कर्मचारी तथा पदाधिकारीलाई छनौट गरेका छन्। 

बोर्डमा नयाँ अध्यक्ष नियुक्त हुने सम्भावना अनिश्चित बनिरहेको समयमा शक्तिकेन्द्र रिझाएर यसैगरी अध्यक्ष भइरहने तर काम नगर्ने उनको प्रवृत्ति देखिन्छ। धितोपत्रमा पेन्डिङ रहेका कामका बारेमा प्रतिक्रिया लिन खोज्दा उनले यो विषयमा आफू प्रतिक्रिया दिनसक्ने अवस्थामा नरहेको बताएका थिए।  


प्रकाशित : बुधबार, भदौ २६ २०८११०:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend