सोमबार, असोज ७ गते २०८१    
images
images

पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा

images
मंगलबार, भदौ १८ २०८१
images
images
पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा
images
images

म्याग्दी- मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ।

images
images
images

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको हो। लो-घेकर दामोदरकुण्ड-३ घिलिङका वडाध्यक्ष झब्याङ तेन्जिङ गुरुङले चुङसी गुफामा पर्यटक भित्र्याउन पहल गरिएको बताए।

'गुफासम्म पुग्ने सडक र पदमार्ग तयार भएको छ', उनले भने, 'उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि चुङसी गुफाको प्रवर्द्धनमा जोड दिएका हौँ।'

साङबोचेबाट दुई किलोमिटर कच्ची सडक र एक किलोमिटर पैदलयात्रा गरेपछि चुङसी गुफामा पुगिन्छ।

images

भेनाखोलाको किनारबाट १० मिनेट उकालो पैदलयात्रा गरेपछि पहाडको बीचमा रहेका दुईवटा ठूला गुफामा पुगिन्छ। तीनवटा तला रहेको तल्लो चुङसी गुफाभित्र विभिन्न देवीदेवताका मूर्ति, जनावरका प्राकृतिक आकृति अवलोकन गर्न सकिन्छ।

गुफाभित्र तपस्वी ध्यान बसेको आकृति देखिने शिला रहेको छ। गुफाभित्र नै गुम्बा रहेकाले यसको धार्मिक महत्व पनि छ। गुम्बामा लामा बस्छन्। भगवान् बुद्धको मूर्ति रहेको चुङसी गुफाभित्रको गुम्बामा बौद्ध धर्मावलम्बीहरूले यहाँ पूजाआजा गर्छन्। लामाहरूले ध्यान, तपस्या गर्छन्। 

तल्लो चुङसी गुफाबाट थप पाँच मिनेट उकालो पैदलयात्रा गरेपछि उपल्लो चुङसी गुफामा पुगिन्छ। करिब ५० मिटर लम्बाइ र २० मिटर चौडाइको यो गुफाभित्र पनि देवीदेवताका मूर्ति, जनावर र जनावरका अंगका आकृतिहरू देखिन्छ। उपल्लो र तल्लो चुङसी गुफाको फेदीमा रहेको अर्को गुफाभित्र पानी रसाउँछ। सो पानीलाई गुफा अवलोकन गर्न आउने भक्तजन र पर्यटकले प्रसादका रूपमा भाँडामा भरेर लैजाने गर्छन्। उपल्लो मुस्ताङवासीको भाषामा चुङसीको अर्थ प्राकृतिक हुन्छ।

चुङसी गुफा अवलोकन गरेका म्याग्दीका सुरेन गुरुङले शान्त वातावरण, प्राकृतिक, अलौलिक र अनौठा दृष्यले मोहित बनाएको बताए। 'साङबोचेबाट चुङसी गुफा जोड्ने सडकलाई स्तरोन्नति, महत्व र विशेषताको प्रचारप्रसार गर्न सकेमा यहाँ पर्यटकको ओइरो लाग्छ', उनले भने, 'यस्तो अनौठो गुफा अन्यत्र देखेको थिइनँ।'

गुफाको वरपर अग्ला पहाड छन्। सुक्खा पहाडको खोँच एकान्त छ। हाल दैनिक आठ-दश जनाको अनुुपातमा पर्यटक चुङसी गुफा अवलोकन गर्न जाने गर्दछन्। लो-घेकर दामोदरकुण्ड गाउँपालिकाले भेनाखोलाको फेदीबाट चुङसी गुफा जोड्ने पहाडको उकालोमा रेलिङसहितको ढुंगाको सिँढी बनाएर पदमार्ग निर्माण गरेको वडाध्यक्ष गुरुङले बताए। केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ। भेनाखोलाको किनारमा पदमार्ग संरक्षणका लागि तटबन्ध गरिएको छ। 

पदमार्ग निर्माणका लागि ३० लाख रूपैयाँ लगानी गरिसकेको र सडक स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा १५ लाख रूपैयाँ विनियोजन गरेको उनले बताए। पैदलयात्रा गर्न चाहने पर्यटकका लागि समरबाट चुङसी गुफा हुँदै साङबोचे जोड्ने परम्परागत पदमार्गलाई स्तरोन्नति गरिएको छ।

सडकमा सवारीसाधनमा यात्रा गर्न नरुचाउने विदेशी पर्यटकले यो पदमार्ग प्रयोग गर्छन्। रासस


प्रकाशित : मंगलबार, भदौ १८ २०८११०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend