सोमबार, असोज ७ गते २०८१    
images
images

बाटुलेचौरमा पर्यटकीय पूर्वाधार निर्माण

images
सोमबार, भदौ १७ २०८१
images
images
बाटुलेचौरमा पर्यटकीय पूर्वाधार निर्माण

अध्यक्ष पौडेलका अनुसार मन्दिर परिसरमा एक सय आठ भन्दा बढी बर पिपलका चौतारी समुदायको साझेदारीमा निर्माण गरिएको छ।

images
images

पर्वत- यहाँको कुश्मा नगरपालिका-१२ ठुलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा एक करोड ५० लाख रुपैयाँका पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन्। 

images
images
images

पछिल्लो समय भक्तजन र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको बाटुलेचौरमा गत आर्थिक वर्षमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट उक्त बजेटमा पर्यटकीय पूर्वाधार निर्माण गरिएका हुन्। कालिका भगवती मन्दिर र शिवको विशाल मूर्तिसमेत रहेको बाटुलेचौर आउने भक्तजन र पर्यटकको सहजताका साथै बाटुलेचौरलाई आकर्षक बनाउन पूर्वाधार निर्माण गरिएको बाटुलेचौर कालिका भगवती मन्दिर क्षेत्र विकास संस्थाका अध्यक्ष गणेश पौडेलले जानकारी दिए। 

अध्यक्ष पौडेलका अनुसार मन्दिर परिसरमा एक सय आठ भन्दा बढी बर पिपलका चौतारी समुदायको साझेदारीमा निर्माण गरिएको छ। बर पिपल रोप्न चाहने हरेक व्यक्ति वा परिवारले १० हजार बराबरका चौतारी निर्माण गरेका छन्। यस्ता चौतारी एक सय २४ वटा रहेको पौडेलले बताए। विशेष गरी शनि त्रयोदशीमा एक सय आठ पिपल चौतारी घुम्न र पूजा गर्न यहाँ दर्शनार्थी आउने गर्छन्। 

त्यसैगरी मन्दिर परिसरमै सत्तल निर्माण गरिएको छ। मन्दिर परिसरमा घुम्न र दर्शन गर्न आउने ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक दिवा केन्द्र निर्माण गरिएको छ। सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत ९९ लाख  लागतमा भवन निर्माण गरिएको छ। पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट २५ लाख, कुश्मा नगरपालिकाबाट १० लाख विनियोजन गरिएको थियो। चालु आवमा पनि २० लाख विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिए। 

images

यसैगरी भगवान् शिवको अग्लो मुर्ति निर्माण गरिएको छ। बाटुलेचौर मन्दिर प्रवेश गर्ने पूर्व र पश्चिम दुवैतर्फ आकर्षक प्रवेशद्वार निर्माण गरिएका छन्। मन्दिर परिसर, पिपल चौतारी हुँदै प्रवेशद्धारसम्म आकर्षक पदमार्ग र मञ्च निर्माण गरिएको छ। 

सदरमुकाम कुश्माबजारबाट १२ किलोमिटरको दुरीमा रहेको यस मन्दिरमा पछिल्ला केही वर्षयता दर्शनार्थी मात्र नभइ पर्यटक र विभिन्न भिडियो तथा वृत्तचित्र छायांकन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । यहाँ आउने पर्यटक र भक्तजनको सुविधाका लागि घरवास, होटल विस्तार भएका छन्। बाटुलेचौर पछिल्लो समय धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको स्थानीय युगनाथ पौडेलले बताए। 

राजा दशरथले आफ्ना भान्जा श्रवण कुमारको हत्या गरेको पाप मोचन गर्न यहाँ आइ अश्वमेध यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पूजाआजा तथा मन्दिर निर्माण गरिएको किंवदन्ती छ। भृगु ऋषिको तपस्यास्थल मानिने सो ठाउँको सम्पदा संरक्षण नहुँदा चोरी भएका थिए। संरक्षण अभावमा हालको मन्दिरका विभिन्न पुरातात्विक समान विभिन्न समयमा हराएका छन्। स्थानीयवासीका अनुसार मन्दिर रहेको मुख्य ठाउँमा दुई सय वर्ष पुराना संरचना भएपनि विसं १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले मन्दिर निर्माण गरेपछि नियमित पूजा हुँदै आएको हो। 

यहाँ विशेषगरी दसैँ, चैत्राष्टमी, बालाचतुर्दशी, शिवरात्रीलगायतका चाडपर्वमा भव्य मेला लाग्ने गर्दछ। यहाँ मेला भर्न पर्वतको कुश्मा, फलेवास नगरपालिका, मोदी गाउँपालिका र छिमेकी जिल्ला स्याङ्जाका दर्शनार्थीसमेत आउने गरेका छन्। यहाँबाट पर्वत सदरमुकाम कुश्मा, बागलुङ, म्याग्दी र स्याङ्जाका विभिन्न स्थानका साथै अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रेलगायतका हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। 

बाटुलेचौरको प्रवर्द्धन र प्रचारप्रसार गर्न यस वर्ष हरितालिका तीजको अवसरमा दोस्रो बाटुलेचौर तीज मेला आयोजना गरिएको छ। आगामी भदौ २१ गते हरितालिका तीजको अवसरमा बाटुलेचौर कालिका भगवती मन्दिर क्षेत्र विकास संस्था र स्थानीय ठूलीपोखरी वडा कार्यालयको संयुक्त आयोजनामा तीज मेला आयोजना गरिएको हो। 

मेलामा मौलिक तीज गीत प्रतियोगिता, विद्यालय तथा खुला नृत्य प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती राखिएको आयोजकले जनाएको छ। रासस


प्रकाशित : सोमबार, भदौ १७ २०८११०:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend