बुधबार, असोज ९ गते २०८१    
images
images

हिले-जलजले पर्यटकीय ताल निर्माण अन्तिम चरणमा, ८२ प्रतिशत काम सकियो

images
मंगलबार, भदौ ११ २०८१
images
images
हिले-जलजले पर्यटकीय ताल निर्माण अन्तिम चरणमा, ८२ प्रतिशत काम सकियो
फाइल तस्बिर

हिले जलजले सामुदायिक ‘ख’ वनमा शून्य दशमलव ४९ हेक्टर क्षेत्रफलको ताल बन्न लागेको हो। तालको निर्माण ८२ प्रतिशत सकिएको निर्माण कम्पनीले जनाएको छ।

images
images

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-२ स्थित हिले जलजले सामुदायिक वन क्षेत्रमा ‘पर्यटकीय ताल’ निर्माण अन्तिम चरणमा पुगेको छ।

images
images
images

उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयद्वारा विसं २०७९ मङ्सिरमा ताल निर्माण सुरु गरिएको थियो। 

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलस्थित पर्यटकीय क्षेत्र नगरकोट पुग्ने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हिले जलजले सामुदायिक वनमा तालको निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ। हिले जलजले सामुदायिक ‘ख’ वनमा शून्य दशमलव ४९ हेक्टर क्षेत्रफलको ताल बन्न लागेको हो। तालको निर्माण ८२ प्रतिशत सकिएको निर्माण कम्पनीले जनाएको छ। 

ओखरे र थुम्की खोला मिसिएर बग्ने स्युरो खोलामा यस तालको बाँध बाँधिएको हो। चालु आर्थिक वर्षको मङ्सिर महिनाभित्र निर्माण सक्नेगरी काम गरिरहेको निर्माण कम्पनी विजय-लोटस-तेजस्वी जेभीका गणेश मोक्तानले बताए।

images

'अविरल वर्षाका दिनबाहेक काम भइरहेको छ, निर्धारित समयमै काम सक्ने लक्ष्य लिएका छौँ', उनले भने।

उनका अनुसार निर्माणाधीन तालको हाल भुइँमा ढलान तथा ताल वरपर पर्खाल लगाउने काम सकिएको छ भने ‘फिनिसिङ’ गरी तालमा पानी थुन्ने काम बाँकी रहेको छ।

उक्त निर्माण कम्पनीसँग पाँच करोड ८९ लाख ५१ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। तालसहितका अन्य संरचना निर्माण गर्न १६ करोड ९४ लाख ५० हजार रूपैयाँ लाग्ने अनुमान गरिएको छ। निर्माणाधीन पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र एक सय ८२ मिटर लम्ब्याइएको छ।

ताल निर्माणका लागि डिभिजन वन कार्यालय धुलिखेलले वन क्षेत्रको एक सय २९ रूख कटानको स्वीकृति दिएपछि ताल निर्माण थालिएको थियो। यस्तै, त्यसअघि प्रदेशस्थित पर्यटन मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेको थियो।

प्रदेश सरकारले ताल निर्माणका लागि क्रमागतअन्तर्गत गत आवमा सम्झौताअनुसार बाँकी रकम रु एक करोड बजेट विनियोजन गरेको थियो। डीपीआरमा तालमा डुंगा सञ्चालन तथा ताल आसपासका क्षेत्रमा मनोरञ्जन पार्क, पर्खाल, उद्यानका साथै प्राकृतिक सौन्दर्यीकरण सजावटका काम हुने जनाइएको छ।

यस्तै, तालमा परिसरमा चराचुरुंगी र वन्यजन्तुसमेतको संरक्षण गर्नेगरी तालको संरक्षण गर्ने योजना बनाइने छ।

ताल क्षेत्र वरपरका रूखमा ‘ट्री हाउस, ट्री सेन्टर’ निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने संरचना निर्माण गर्न सकिने जनाइएको छ। प्रदेश सरकारले प्राथमिकतामा राखेको उक्त ताल निर्माणपछि दोस्रो चरणमा पार्किङ, होटल तथा पसल सञ्चालनका लागि संरचना, टिकट घरलगायत अन्य पूर्वाधार निर्माण गरिनेसमेत गुरुयोजनामा उल्लेख गरिएको छ।

ताल निर्माण सम्पन्नपछि संघीय राजधानी काठमाडौंको नजिकको एक पर्यटकीय गन्तव्य तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने अपेक्षा गरिएको छ।

जिल्लाको उत्तरी पहाडी क्षेत्रमा अवस्थित वनको प्राकृतिक सौन्दर्यलाई कायमै राखी ताल निर्माणका लागि स्थानीय तहलाई तत्कालीन अवस्थामा गुरुयोजना तयार गर्न लगाएको र हाल बहुउद्देश्यीय परियोजनाका रुपमा सञ्चालन हुने उक्त योजनालाई क्रमागत रुपमा लगिएको काभ्रेपलाञ्चोकका सांसद गोकुल बाँस्कोटाले बताए। उनका अनुसार बनेपाको वासुकी क्षेत्र र हिले-जलजलेलाई पर्यटकीय तथा समृद्धिको आधारको प्रमुख गन्तव्य बनाउन संरचना निर्माण गर्न लागिएको हो।

सानो पोखरीमा अवस्थित हिले-जलजलेको छुट्टै धार्मिक तथा सांस्कृतिक महत्व रहेको पाइएको छ। नगरकोटस्थित महादेव पोखरी र हिले जलजले क्षेत्रमा ‘हलाहल विष पिएर आएका महादेव’ चोपलिएको किंवदन्ती छ। यस्तै, वासुकी नाग हिले-जलजले क्षेत्रबाट पनौतीको मकर मेलाका लागि जाने विश्वास गर्दै आइएको छ। हरेक वर्ष घुम पूर्णिमा (ज्याःपुन्ही)को दिन पनौतीमा लाग्ने जात्रामा हिले-जलजले क्षेत्रबाट वासुकी नाग जाने क्रममा पानी पर्ने र हावाहुरी चल्ने गर्दै आएको छ।

वासुकी नाग जाँदा हावाहुरीबाट लडेको मकै तथा अन्य खाद्यबाली नाग फर्कंदा पहिलाकै अवस्थामा आउने किंवदन्ती पनि रहेको पाइन्छ। वासुकी नागले पनौतीको भ्रमण गर्दा उनको स्मरणमा पूजाअर्चना गर्दा ‘मागेको पुग्ने’ विश्वास गर्दै आइएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ ११ २०८११५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend