बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

१९ अर्ब ७४ करोडको कारोबार हुँदा सेयर बजारमा साताको पहिलो दिन देखिएन सुखद

आइतबार, भदौ ९ २०८१
१९ अर्ब ७४ करोडको कारोबार हुँदा सेयर बजारमा साताको पहिलो दिन देखिएन सुखद

काठमाडौं- गएको साता समग्रमा २६.३५ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबार पनि ओरालोतिर नै देखिएको छ। कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजारमा गएको सातायता भने वृद्धि थामिएको हो। 

यो साता पहिलो कारोबारमा आइतबार ७९.८८ अंकले घटेर बजार २८९४.५७ बिन्दुमा झरेको छ। ६० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १९ अर्ब ७४ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ। आइतबार १८४ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको साता समग्रमा २६.३५ अंकले घटेको सेयर बजार त्यसअघिको साता भने समग्रमा २३४.४३ अंकले बढेको थियो। जुन साता २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँको कीर्तिमानी कारोबारसमेत भएको थियो।

लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको बजार अहिले उच्च बिन्दुतर्फ बढिरहँदा उतारचढावबीच कुनै दिन बजार घटेपनि त्यसलाई 'करेक्सन' नै मान्नुपर्ने विश्लेषकहरू बताउँछन्। बजारले यो साता पनि बाँकी कारोबारमा वृद्धि नै समात्ने उनीहरूको विश्लेषण छ।

बजार गएको सातायता धरमर भए पनि लगातार उच्च देखिएको कारोबार रकमलाई हेर्दा पनि बजार कीर्तिमानी उचाइतर्फ नै बढिरहेको विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ लाग्दा कुनै दिन बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले निरन्तर नै उचाइ लिएकाले अब नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। 

सेयर बजारले अहिले बुलिसतर्फको यात्रा गरिरहेको हुँदा छिटै कीर्तमानी उचाइ भेट्ने विश्लेषकहरू बताउँछन्। खासगरी नयाँ गठबन्धन सरकारले दिलाएको विश्वास र चालु आर्थिक वर्षको मौद्रिक नीतिले दिएको साथले संगठित लगानीकर्ता मात्र होइन नवप्रवेशी साना लगानीकर्ताहरू पनि उत्साहित नै देखिन्छन्।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। गएको सातायताको बजारले समग्र वृद्धिको चक्रमा केही विश्राममात्र देखाएको उनीहरूको भनाइ छ। 


प्रकाशित : आइतबार, भदौ ९ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend