शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बीवाईडी एटो थ्रीको फेसलिफ्ट भर्सन ‘कसमस ब्ल्याक’ सार्वजनिक

शनिबार, भदौ ८ २०८१
बीवाईडी एटो थ्रीको फेसलिफ्ट भर्सन ‘कसमस ब्ल्याक’ सार्वजनिक

बीवाईडी एटो थ्री २०२४ को एडभान्स्ड भर्सनको मूल्य ५६ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ।

काठमाडौं- बीवाईडीको सर्वाधिक लोकप्रिय एसयूभी एटो थ्रीको फेसलिफ्ट भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ। चिनियाँ सवारी निर्माता बीवाईडीको एटो थ्री २०२४ मोडेल नेपालमा सार्वजनिक भएको हो।

बीवाईडीको नेपालका आधिकारिक बिक्रेता साइमेक्स इंकले शुक्रबार एक कार्यक्रम गरेर एटो थ्रीको अपडेटेड भर्सन सार्वजनिक गरेको हो। नेपाली बजारमा बीवाईडी एटो थ्री पहिलो पटक २०७९ माघमा सार्वजनिक भएको थियो। सार्वजनिक भएयता हालसम्म यो गाडी नेपालमा २५ सय वटाभन्दा बिक्री भइसकेको साइमेक्स इंकले जनाएको छ। 

कम्पनीका अनुसार यो गाडी एडभान्स्ड र सुपेरियर गरी दुई भेरियन्टमा उपलब्ध छ। बीवाईडी एटो थ्री २०२४ को एडभान्स्ड भर्सनको मूल्य ५६ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ। त्यस्तै एटो थ्री सुपेरियर भर्सनको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ। 

यसअघि आएको एटो थ्रीमा १२.८ इन्चको स्क्रिन थियो भने २०२४ मोडलको एटो थ्रीमा १५.१६ इन्चको स्क्रिन उपलब्ध रहेको छ। कम्पनीका अनुसार यो गाडी सर्फ ब्लु, कस्मस ब्ल्याक, बोउल्डर ग्रे र स्कि ह्वाइट गरी चार कलर अप्सनमा बिक्रीका लागि उपलब्ध छ। 

एटो थ्रीको सुपरेरियर भर्सनमा ६०.४८ किलोवाट आवर क्षमताको ब्याट्री छ। १ सय किलोवाट पिक पावर भएको मोटर जडान गरिएको यो गाडीले ३ सय १० एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै एक पटकको चार्जमा एटो थ्रीको सुपेरियर भर्सनले ४ सय २० किलोमिटर रेन्ज दिन्छ। यो रेन्ज डब्लूएलटीपी प्रमाणित रहेको कम्पनीको भनाइ छ।  

त्यस्तै बीवाईडीले नयाँ भर्सनको एटो थ्रीमा टेल ब्याज पनि अपडेट गरेको छ। अहिलेको भर्सनको टेल ब्याजमा बीवाईडी लेखिएको छ। यसअघि बिउल्य योर डिङम्स लेखिएको थियो। यसको इन्टेरियरमा डार्क ब्लू र ब्ल्याकको मिश्रण पाउन सकिन्छ। कम्पनीका अनुसार यसलाई मोबाइल एपबाटै कन्ट्रोल गर्न सकिन्छ। 

बीवाईडी एटो थ्रीको एडभान्स्ड भर्सनमा ४९.९२ किलोवाट आवर क्षमताको ब्याट्री छ। यसमा पनि सुपेरियर भर्सन जस्तै १ सय किलोवाट पिक पावर क्षमताको मोटर जडान गरिएको छ। यसले पनि अधिकतम ३ सय १० एनएम टर्क जेनेरेट गर्छ।

४९.९२ किलोवाट आवरको ब्याट्री प्याक भएकाले यसको रेन्ज एक पटकको फुल चार्जमा ३ सय ४५ किलोमिटर रहेको कम्पनीको भनाइ छ। बीवाईडीका विद्युतीय कारमा ब्लेड ब्याट्री प्रयोग गरिएको छ। 


प्रकाशित : शनिबार, भदौ ८ २०८११४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend