बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

आयात घट्ने क्रम चालु आर्थिक वर्ष पनि रोकिएन, निर्यात ९.६३ प्रतिशतले ऋणात्मक

शुक्रबार, भदौ ७ २०८१
आयात घट्ने क्रम चालु आर्थिक वर्ष पनि रोकिएन, निर्यात ९.६३ प्रतिशतले ऋणात्मक

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो साउन महिनामा पनि अन्तर्राष्ट्रिय व्यापारले अपेक्षाकृत गति लिन सकेन। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा नै आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। 

साउनमा आयात ०.६७ प्रतिशत ऋणात्मक हुँदै १ खर्ब २८ अर्ब  रुपैयाँबराबरको वस्तु आयात भएको छ। गत वर्षको यसै अवधिमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्षको सोही अवधिमा आयात १ अर्ब रुपैयाँले घटेको छ। 

गत आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा नै आयात बढ्न सकेको थिएन। गत आर्थिक वर्षभर ऋणात्मक रहेको वस्तु आयातले यस वर्षको पहिलो महिनामा पनि निरन्तरता पाएको छ।

यस्तै आयातका साथै यस वर्ष निर्यात पनि घटेको छ। आर्थिक वर्षको पहिलो महिना साउनमा १३ अर्ब ५२ करोड रुपैयाँको वस्तु निर्यात भएकोमा यस आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब २२ करोड रुपैयाँको मात्रै वस्तु निर्यात भएको छ। 

यस अवधिमा कुल वैदेशिक व्यापार १.५२ प्रतिशतले ऋणात्मक भएको छ। गत आर्थिकको साउनमा १ खर्ब ४२ अर्बको वस्तु व्यापार भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ४० अर्बको मात्रै वस्तु व्यापार भएको छ। 

व्यापार घाटा भने गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा ०.३८ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष १ खर्ब १५ अर्ब रुपैयाँ रहेको वस्तु व्यापार घाटा यस वर्ष १ खर्ब १६ करोड पुगेको छ। 


प्रकाशित : शुक्रबार, भदौ ७ २०८११७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend