बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

रेकर्डतर्फ उन्मुख सेयर बजार, पुँजीगत लाभकरमा पनि रेकर्ड

बिहीबार , भदौ ६ २०८१
रेकर्डतर्फ उन्मुख सेयर बजार, पुँजीगत लाभकरमा पनि रेकर्ड

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ९७ करोड रुपैयाँ पुँजीगत लाभकर उठेको थियो। बजार बियरिस ट्रेण्डमा जाँदा लाभकर घटेको थियो।

काठमाडौं- सेयर बजार निरन्तर वृद्धितर्फ लागेसँगै नयाँ-नयाँ रेकर्ड तोडिइरहेको छ। विगतको बिन्दु ३१९९ नपुगेपनि कारोबार र अन्य रेकर्डहरू बनिरहेको छ।

दैनिक कारोबार २९ अर्ब ९५ करोडसम्म पुगिसकेको छ। सोही कारण साउन महिनामा मात्रै ४ अर्ब २३ करोड रुपैयाँ सेयर बजारबाट पुँजीगत लाभकर बुझाएका छन्। 

तर गतवर्ष २०८०/८१ मा वर्षभरीमा ५ अर्ब ५० करोड रुपैयाँमात्र पुँजीगत लाभकर उठेको थियो। पछिल्लो समय असारयता लगातार बजार बढ्न थालेसँगै पुँजीगत लाभकर बढेको हो। 

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ९७ करोड रुपैयाँ पुँजीगत लाभकर उठेको थियो। बजार बियरिस ट्रेण्डमा जाँदा लाभकर घटेको थियो।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा १० अर्ब ३५ करोड प्राप्त गरेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा १५ अर्ब ५४ करोड रुपैयाँमा पुँजीगत लाभकर उठेको थियो। तर चालु वर्षको साउन महिनामा पुँजीगत लाभकर बढेसँगै चालु वर्ष अर्बौँ रुपैयाँ आउने देखिएको छ।  यता बजार पुँजीकरण ४७ खर्ब १४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। यो पनि सेयर बजारको इतिहासमै रेकर्ड हो। 

गएको साता २३४.४३ अंकले बढेको सेयर बजारमा यो साता पहिलो कारोबार आइतबार उतारचढावबीच ३४.४७ अंकको ‘करेक्सन’ देखिँदै बन्द भएको थियो। सोमबार र मंगलबार बन्द रहेको बजार बुधबार स्थिर देखियो। 

बुधबार २.११ अंकले बढेर बजार २९६८.४४ बिन्दुमा पुगेको छ। १०० कम्पनीको सेयर मूल्य बढेको बजारमा १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँको कारोबार भयो।

लगातार उच्च देखिएको कारोबार रकमलाई हेर्दा पनि बजार कीर्तिमानी उचाइतर्फ नै बढिरहेको विश्लेषकहरू बताउँछन्।

वृद्धितर्फ लाग्दा कुनै दिन बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले निरन्तर नै उचाइ लिएकाले अब नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। 

१८ सयदेखि २ हजारको बिन्दुमा लामो समय घुमेर बस्दै अहिले निरन्तर बजार उचाइतर्फ लागेको हो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। सेयर बजारले अहिले बुलिसतर्फको यात्रा गरिरहेको हुँदा छिटै कीर्तिमानी उचाइ भेट्ने विश्लेषकहरू बताउँछन्।

खासगरी नयाँ गठबन्धन सरकारले दिलाएको विश्वास र चालु आर्थिक वर्षको मौद्रिक नीतिले दिएको साथले संगठित लगानीकर्तामात्र होइन नवप्रवेशी साना लगानीकर्ताहरू पनि उत्साहित देखिन्छन्।


प्रकाशित : बिहीबार , भदौ ६ २०८१०७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend