शुक्रबार, चैत १६ गते २०८०    
images
images

डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता 

images
बिजनेस न्युज
images
डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता 

राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन लागिएको छ।

images
images

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको १३२ केभी क्षमताको डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता गरिएको छ। 

images
images
images

मालिका गाउँपालिका-७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका-३ अम्बाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन बनाउने ठेक्का भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)ले पाएको हो। आयोजना प्रमुख रोशन अग्रवालले २६ मिलियन अमेरिकी डलरमा एलएनटीसँग ३१ डिसेम्बर २०२१ मा ठेक्का सम्झौता भएको जानकारी दिए।

images

'आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र प्रतिस्पर्धामा सबैभन्दा कम दर प्रस्ताव गरेको एलएनटीसँग सम्झौता गरिएको हो', उनले भने, 'सम्झौतालगत्तै ठेकेदारले डिजाइन र सर्वेक्षणको काम सुरु गरेको छ।'

images
images

ठेक्का सम्झौताको अवधि ३० महिना छ। म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन लागिएको हो।

पच्चीस किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनका ९० टावर निर्माण हुनेछन्। डाँडाखेत सबस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने भएको छ। २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सबस्टेशन जीआइएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताए। एशियाली विकास बैंकको ऋणमा प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो। डाँडाखेतमा सबस्टेशन बनाउन चार वर्षअघि ५१ रोपनी र राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ।

दुवै ठाउँमा जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवनसमेत निर्माण भएको छ। म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार जलविद्युत् आयोजना निर्माण सुरु भएका छन्। संसारको सातौँ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन्। थप दुई आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन्।

सबस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रवर्द्धक सक्रिय भएका मालिका-७ बिमका वडाध्यक्ष रेशम जुग्जालीले बताए। 'नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा सबस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौताको तयारी गरेसँगै जलविद्युत् आयोजना निर्माण अघि बढेका हुन', उनले भने, 'दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरिसकेका छन् भने थप दुई तयारीमा छन्।'

गैरआवासीय नेपालीहरूको अगुवाइमा धवलागिरि कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको सुुरुङको अडिट पोर्टल बनाउन थालेको छ। आयोजनाका इञ्जीनियर प्रकाश शाहीले पहुँचमार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प व्यवस्थापन सकेर सुरुङको अडिट निर्माण सुरु गरेको जानकारी दिए।

गोज्जामा अडिट नम्बर २ को पोर्टन निर्माण भइरहेको छ। बाँध र विद्युत्गृह निर्माणको तयारी भएको छ। मालिका-७ बिम र धवलागिरि-७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ। धवलागिरि-४ मा हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरेको छ।

हाइड्रो इम्पायरका अध्यक्ष जीतबहादुर घर्तीले बिमको शिवरात्रिखोलाबाट भारबाङ, कल्लेनी, छहरी हुँदै बाँसबोटसम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्रयाक खोलिसकेको जानकारी दिए। धवलागिरि-४ मै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको संरचना तयारी सुरु गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक सुशील पोखरेलले निर्माण अघि बढाउन विद्युत् विकास विभागबाट अध्ययन अनुमति पाइसकेको बताए।

अपर हाइड्रोपावर प्रालि काठमाडौँले धवलागिरि र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत् आयोजना निर्माणस्थलमा सडक र विद्युत् सुविधा पुर्‍याउने काम भइरहेको छ। धवलागिरि-४ मुदीको खाम्ला नजिकै बाँध र मालिका-७ बिमको भारवाङमा विद्युत्गृह रहने आयोजना रन अफ द रिभर प्रकृतिको हो। पाँच किलोमिटर ५०० मिटर दूरीको सुरुङबाट ल्याइएको पानी ७७० मिटर हेडबाट विद्युत्गृहमा खसालिने कम्पनीले जनाएको छ। रासस

images

प्रकाशित : शुक्रबार, पुस २३ २०७८०५:१८
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ