बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

व्यापक उतारचढावबीच सेयर बजारमा 'करेक्सन', २८ अर्ब ८३ करोडको कारोबार

आइतबार, भदौ २ २०८१
व्यापक उतारचढावबीच सेयर बजारमा 'करेक्सन', २८ अर्ब ८३ करोडको कारोबार

काठमाडौं- गएको साता २३४.४३ अंकले बढेको सेयर बजारमा यो साता पहिलो कारोबार उतारचढावबीच 'करेक्सन' देखिँदै बन्द भएको छ। 

साताको पहिलो कारोबारमा आइतबार व्यापक उतारचढाव देखिँदै ३४.४७ अंकले घटेर बजार २९६६.३३ बिन्दुमा पुगेको छ।

आइतबार ३०४७ को बिन्दुसम्म पुगेको बजार व्यापक उतारचढाव हुँदा २९४७ सम्म झरेको थियो। १९७ कम्पनीको सेयर मूल्य घटेर ४७ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ। यो अहिलेसम्मको सर्वाधिक दोस्रो धेरै कारोबार हो। 

गएको साता अन्तिम कारोबारमा बिहीबार ४३.०५ अंकले बढेर ३०००.८१ को बिन्दुमा पुगेको बजारमा २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो। 

गतसाता पहिलो कारोबारमा आइतबार ९४.४६ अं‌कले बढेको बजारमा २५ अर्ब ७७ करोड ९४ लाख रुपयाँको कीर्तिमानी कारोबार भएको थियो। ७०.८१ अंकले बढेर सोमबार उक्त कीर्तिमान तोडिँदै २७ अर्ब २४ करोड २० लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो। गतसाता सोमबारको कारोबार रकमको कीर्तिमान बिहीबार तोडिएको थियो। 

लगातार बढिरहेको कारोबार रकमलाई हेर्दा पनि बजार कीर्तिमानी उचाइतर्फ नै बढिरहेको विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ लाग्दा कुनै दिन बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले निरन्तर नै उचाइ लिएकाले अब नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। 

१८ सयदेखि २ हजारको बिन्दुमा लामो समय बजार घुमेर बस्दै अहिले निरन्तर बजार उचाइतर्फ लागेको हो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्।


प्रकाशित : आइतबार, भदौ २ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend