शनिबार, असोज १२ गते २०८१    
images
images

पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने पातीचौर-लप्सीबोट सडक अवरुद्ध

images
शनिबार, भदौ १ २०८१
images
images
पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने पातीचौर-लप्सीबोट सडक अवरुद्ध
फाइल तस्बिर

एक महिनाभन्दा बढी समय भइसक्दा पनि सो सडक खुलाउने कुनै प्रयास हुन सकेको छैन।

images
images

पर्वत- प्रसिद्ध पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने सडक विगत एक महिनाअघिदेखि अवरुद्ध बनेको छ। 

images
images
images

जिल्लाको मोदी गाउँपालिकाका देउपुर, देउराली र भुकताङ्ले गरी तीन वडालाई मध्यपहाडी लोकमार्गसँगसंग जोड्ने पातीचौर- लप्सीबोट सडक अझै खुल्न नसकेको हो। गत असार २६ गतेको भीषण वर्षाका कारण सडक खण्डअन्तर्गत मोदीको वडा नं २ कोरूङ्गामा गएको ठूलो पहिरो पन्छाउन नसक्दा उक्त क्षेत्रका बासिन्दा सास्ती खेप्न बाध्य भएका छन्।

झन्डै दुई किलोमिटर पक्की सडक पहिरोले पुरिनुका साथै संरचनासमेत भत्किएको स्थानीय भूमिराज शर्माले जानकारी दिए। यो सडक खण्डअन्तर्गत जरुवा, पानी खोल्सा, कोरूङ्गा लगायतका स्थान पहिरोले पुरिएको छन् भने कतै बाढीले सडक नै बगाएको उनले बताए।

एक महिनाभन्दा बढी समय भइसक्दा पनि सो सडक खुलाउने कुनै प्रयास हुन सकेको छैन। सडक सञ्चालनका लागि गाउँपालिकाले समेत बेवास्ता गरेको स्थानीयको गुनासो छ। लामो समय सडक अवरुद्ध हुँदा यात्रुलाई निकै सास्ती हुनुका साथै अत्यावश्यक सामान ढुवानीमा समस्या भएको वडा नं १ भुकताङ्लेका वडाध्यक्ष टेकबहादुर गुरुङले बताए।

images

सडककै कारण भुकताङ्ले र लप्सीवोटमा सञ्चालित दुई दर्जन बढी घरबास (होमस्टे)समेत सुनसान बनेका छन्। यहाँबाट हम्पाल, मोहोरेडाँडा, नागी, लगायतका पर्यटकीय क्षेत्रमा जाने पर्यटकलाई समेत समस्या भएको उनको भनाइ छ।

उक्त क्षेत्रमा सञ्चालन हुने दर्जनौँ सवारी साधन महिनादिनदेखि कोरुङ्गामा थन्किएका छन्। त्यहाँबाट झण्डै दुई किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता स्थानीयको छ। सडक अवरुद्ध हुँदा सवारी साधनको अभावमा बिरामीलाई समयमै स्वास्थ्य संस्थामा पु¥याउनसमेत नसकिएको स्थानीय सन्तोष तिमिल्सिनाले बताए। उनका अनुसार गाउँमा एम्बुलेन्स जाने अवस्था छैन। सिकिस्त  बिरामी, गर्भवती र सुत्केरीलाई डोकोमा बोकेर अस्पताल लैजानुपरेको तिमिल्सिनाले बताए।

दैनिक कार्यालय तथा विद्यालय जाने कर्मचारी र शिक्षकले पनि उस्तै सास्ती व्यहोरेका छन्। आफ्ना सवारी साधन पातिचौरमा थन्क्याएर उकालो हिँड्नुपरेको उनीहरुको गुनासो छ। पहिरोले क्षतिग्रस्त भएको सडक तत्काल सञ्चालन गर्न कठिन भएको वडा नं २ का वडाध्यक्ष बेलबहादुर कार्कीले बताए।

अध्यक्ष कार्कीका अनुसार वैकल्पिक मार्गको रूपमा बेतेनी-गौडा-राहाले सडक स्तरोन्नति गरी सञ्चालनमा ल्याउने प्रयास थालिएको छ। उक्त वैकल्पिक सडक निकै चिप्लो र हिलो भएका कारण सवारी साधन सञ्चालनमा समस्या आउने सवारी चालकहरुले बताएका छन्।

'वैकल्पिक सडकबाट सवारी साधन लिएर आउँछन्, तर सडक पार गर्न निकै कठिन हुने गरेको छ, कति त फर्किएर जान्छन्', स्थानीय मिठु चापागाईँले भनिन्। स्थानीय राजेश गिरीले करिब डेढ किलोमिटरको सडक दुई चार ठाउँमा सामान्य मर्मत गरी नियमित गाडी चल्नसक्ने अवस्था हुँदाहुँदै पनि बेवास्ता गरिएको गुनासो गरे।

वैकल्पिक मार्गलाई पक्की सडकका रूपमा स्तरोन्नति गर्नसके बर्खाको समयमा यात्रुले सास्ती झेल्न नपर्ने उनले बताए। थोरै लगानीमा धेरै काम दिने छोटो दुरीको सडक निर्माणमा स्थानीय, प्रदेश र केन्द्र सरकारले लगानी गर्नुपर्ने उनीहरुको माग छ।

कमजोर भूधरातलका कारण उक्त सडकमा वर्षेनी समस्या आउने गरेको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताइन्। अवरुद्ध सडक खुलाउनका लागि तत्काल प्रयास गरिने उनको भनाइ छ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत विगत पाँच वर्षअघि कालोपत्र गरिएको उक्त सडक खण्ड वर्षेनि आउने पहिरोका कारण जीर्ण बनेको छ। उक्त कार्यालयसँगको परामर्शमा सडक मर्मत थालिने अध्यक्ष शर्माले बताइन्। रासस


प्रकाशित : शनिबार, भदौ १ २०८११२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend