बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

आन्तरिक राजस्वमा तीनजनाको प्रतिस्पर्धा, भन्सारमा पुडासैनीको सम्भावना बलियो

शुक्रबार, साउन ३२ २०८१
आन्तरिक राजस्वमा तीनजनाको प्रतिस्पर्धा, भन्सारमा पुडासैनीको सम्भावना बलियो

अर्थमन्त्री विष्णु पौडेल सकेसम्म आजै भन्सार र आन्तरिक राजस्वमा महानिर्देशक नियुक्त गर्ने पक्षमा रहेका छन्।

काठमाडौं- सरकारले सहसचिवको व्यापक सरुवाअन्तर्गत दुई ठूला राजस्व निकायका प्रमुखको पनि सरुवा गरेको छ। भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशको सरुवा भएसँगै अब त्यहाँ जानका लागि सहसचिवहरूबीचमा प्रतिस्पर्धा चलेको छ। 

संकटोन्मुख राजस्व संकलनको अवस्थामा विभागीय नेतृत्वमा पठाउने मान्छेलाई अर्थ प्रशासनमा चासोका साथ हेरिएको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार अब नयाँ भित्रिएको र पुराना बाहिरिएको अवस्थामा विभागीय प्रमुखका लागि छिटै निर्णय हुनेछ। 

अर्थमन्त्री विष्णु पौडेल सकेसम्म आजै भन्सार र आन्तरिक राजस्वमा महानिर्देशक नियुक्त गर्ने पक्षमा रहेका छन्। 

मन्त्रालय स्रोतका अनुसार आन्तरिक राजस्व विभागको महानिर्देशका लागि तीनजना सम्भावित सहसचिव देखिएका छन्। अहिले सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख रहेका र यसअघि पनि विभागको महानिर्देशक भइसकेका दीर्घराज मैनाली दाबेदार देखिएका छन्। 

त्यस्तै सरुवा भएर अर्थ प्रवेश गरेका मदन दाहाल पनि आन्तरिक राजस्व विभागमा जान खोजेका छन्। यसअघि राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका दाहाल श्रमबाट अर्थ प्रवेश गरेका हुन्। दाहाल आन्तरिक राजस्व जानका लागि राजनीतिक लविङमासमेत लागेका छन्। 

त्यस्तै अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका रामप्रसाद आचार्य पनि प्रबल दाबेदार देखिएका छन्। 

भन्सार विभागको महानिर्देशकमा खासै धेरै सहसचिवको चासो नदेखिएको र वरिष्ठ सहसचिव पनि भएको रुची पनि भएकाले हरिशरण पुडासैनीको सम्भावना बलियो देखिएको छ। प्रदेशबाट सरुवा भएर अर्थ भित्रिएका पुडासैनी भन्सार विभागको महानिर्देशक हुने सम्भावना बलियो रहेको अर्थनिकट स्रोतको दाबी छ। 

यद्यपि भन्सार र आन्तरिक राजस्व विभागमा मन्त्रीको चासोमात्र नभएर व्यापारिक लविङ पनि हुने भएकाले जसले पनि बाजी मार्नसक्ने कर्मचारीहरूको भनाइ छ। 


प्रकाशित : शुक्रबार, साउन ३२ २०८११०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend