आइतबार, भदौ २३ गते २०८१    
images
images

दैनिक २ करोड आम्दानी गुमाउँदै नेपाल एयरलाइन्स

images
बिहीबार , पुस २२ २०७८
images
images
दैनिक २ करोड आम्दानी गुमाउँदै नेपाल एयरलाइन्स
images
images

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले अहिले दैनिक दुई करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाइ रहेका छ। निगमको एयरबस ३२० जहाज कतारको दोहामा ग्राउन्डेड भएर बसेसँगै निगमले दैनिक दुई करोड रुपैयाँ आम्दानी गुमाइरहेको हो।

images
images
images

जहाज पुस १३ गतेदेखि कतारको दोहामा ग्राउन्डेड भएको हो। जहाज अवतरणपछि पार्किङमा लैजाने क्रममा वायाँ इन्जिनमा समस्या देखिएपछि जहाज ग्राउन्डेड भएको हो।

जहाज ग्राउन्डेड भएको ९ दिन हुँदासम्म निगम व्यवस्थापनले जहाजको इन्जिन मर्मतका निर्णय गर्न सकेको छैन। जसबाट निगमको अन्तर्राष्ट्रिय उडान तालिमका समेत अस्तव्यस्त भएको छ। उडान अस्तव्यस्त हुँदा निगमको छबी बिग्रन थालेको छ। साथै निगमले आर्थिक समस्या पनि भोग्न परेको छ।

जहाजको इन्जिन निर्माता कम्पनीले जहाज इन्जिन मर्मत गर्नुपर्ने हुँदा इन्जिन नै रिप्लेस गर्ने सुझाव दिएको पनि एक साता भइसकेको छ। तर जहाजको इन्जिन मर्मतका लागि निगम बोर्डबाट निर्णय हुन सकेको छैन। 

images

सोमबारका लागि तय भएको बोर्ड बैठक व्यवस्थापनले बिनाकारण रद्द गरेसँगै जहाज मर्मतको निर्णय हुन समय लाग्ने भएको छ। जसबाट निगमको आम्दानी दैनिक दुई करोड रुपैयाँले कमी भइरहेको छ।

कसरी गुम्छ दुई करोड

निगमको एयरबस ३२० जहाजले सामान्यत दैनिक काठमाडौं-कतार (दोहा)-काडमाडौं र काठमाडौं-दुबई-काठमाडौं गरी चार वटा उडान तथा अवतरण गर्छ।

चार उडान तथा अवतरणमा एयरबस जहाजको सिट क्षमता १५६ का दरले ६ सय २४ सिट हुन्छ। यो सेक्टरमा अहिले सामान्यत: एउटा सिटको मूल्य ३५ हजार रुपैयाँ हुन्छ। जसबाट निगमले २ करोड १८ लाख रुपैयाँ गुमाइरहेका छ। यसैभित्र कार्गो रकमसमेत समावेश हुने निगमका एक कर्मचारीले जानकारी दिए। तर निगम व्यवस्थापनले यस विषयलाई कुनै चासो नदिएको एक सञ्चालकले जानकारी दिए। निगम सञ्चालक समितिमा समेत अहिले विरोध छ।

निगममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निगमकै पूर्वकर्मचारी युवराज अधिकारीलाई नियुक्ति गरेसँगै सञ्चालकमा विवाद भएको छ। मन्त्रि आले र अधिकारीले तीन जना सञ्चालकलाई राजीनामा दिन दबाब दिइरहेको छन्। यसको कारण पनि सञ्चालक समितिमा बहुमत नपुग्ने अवस्थामा सोमबार बैठक रोकिएको हो।

निगम सञ्चालक समितिमा ७ जना रहेका छन्। जसमा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होम लुइँटेल, अर्थ मन्त्रालयका सहसचिव महेश आर्चाय, पूर्वमहाप्रबन्धक डिमप्रकाश पौडेल, फुर ग्लेजे शेर्पा, किशोर प्रधान र ईश्वरी पौडेल छन्।

पर्यटनमन्त्री प्रेम आलेले डिम प्रकाश पौडेल, फुर ग्लेजे शेर्पा र ईश्वरी पौडेललाई सञ्चालक समितिबाट राजीनामा दिन अध्यक्ष अधिकारीमार्फत दबाब दिइरहेका छन्। यसको प्रभाव सञ्चालक समिति बैठकमा देखिने र जहाज मर्मतमा कमिसन आउने गरी निर्णय गराउन नसक्ने अवस्था आएपछि बैठक नै स्थगित भएको स्रोतको दाबी छ। 

‘अर्थ मन्त्रालयका सहसचिव अनुपस्थित हुने भन्दै बैठक किन रोकियो? के जहाज कतारमा बस्दा त्यसलाई मर्मत गरेर जति सक्दो छिटो उडानमा ल्याउनु पर्दैन?’ एक सञ्चालकले भने, ‘उनीहरूको पक्षमा तीनजना रहेको र बहुमतबाट निर्णय गराउन चार जना चाहिने भएपछि बैठक नै रद्द गरियो।’

बैठक रद्द गर्दा निगमलाई दैनिक हुने घाटाको जिम्मेवारी कसले लिन्छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने ती सदस्यले बताए। आफ्नो स्वार्थपूर्तिका लागि निगमलाई नै धराशयी बनाउन नपाइने आवाज समितिमा नै उठिरहेको छ।

नाइन एन एकेडब्लु कलसाइन भएको एयरबस ३२० जहाजको बायाँ इन्जिनमा समस्या देखिएको हो। बोर्ड बैठक नबस्दा इन्जिनमा समस्या देखिएसँगै जहाज मर्मत गरी नेपाल ल्याउने विषय पनि अन्योलमा परेको छ। अब जहाजको इन्जिन नै फेर्नुपर्ने छ। इन्जिन निर्माता कम्पनीले अहिलेको इन्जिन झिकेर नै मर्मत गर्नु पर्ने हुँदा अर्को इन्जिन प्रयोग गर्न सुझाव दिएको छ। 

निगमले जहाजको इन्जिन झिकेर मर्मत गर्न कम्पनीमा पठाउँदासम्म अर्को इन्जिन प्रयोग गर्नुपर्ने हुन्छ। तर निगम व्यवस्थापनले सिधै अर्को इन्जिन भाडामा लिन पाउँदैन। बिग्रिएको इन्जिन मर्मत नहुँदासम्म भाडामा इन्जिन लिने लगायतको विषयमा निगम व्यवस्थापनले सिधै निर्णय गर्न पाउँदैन।

यसका लागि निगम व्यवस्थापनले सञ्चालक बोर्डमा लगेर जहाजको इन्जिन मर्मतमा पठाउन कोटेशन मागेर अर्को इन्जिन भाडामा ल्याउन टेन्डर नै गरेर काम गर्नुपर्ने हुन्छ। यी सबै प्रक्रिया पूरा गर्न पनि निगमलाई अझै केही समय लाग्ने भएको छ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                               


प्रकाशित : बिहीबार , पुस २२ २०७८०५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend