बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सेयर बजारमा महँगो मूल्य बनाइएको नेपाल फाइनान्सको नाफामा भारी गिरावट, अधिकांश सूचक नकारात्मक

आइतबार, साउन २० २०८१
सेयर बजारमा महँगो मूल्य बनाइएको नेपाल फाइनान्सको नाफामा भारी गिरावट, अधिकांश सूचक नकारात्मक

काठमाडौं- सेयर बजारमा पछिल्लो समय हटकेक बनेको नेपाल फाइनान्स लिमिटेडको नाफामा भारी गिरावट आएको छ। विवरण अनुसार फाइनान्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सले १ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष फाइनान्सले २ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

केही दिन यता भने दोस्रो बजारमा लगातार सकारात्मक सिर्किट लागेको छ। बिहीबार पनि कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार १ सय ५४ रुपैयाँमा कारोबार भएको छ। यो सँगै कम्पनीको सेयरमा केही ठूला खेलाडीले कर्नरिङ गरेको अनुमान गरिएको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि करका कारण फाइनान्सको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १९.८६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७७.९२ प्रतिशत बढेको छ। त्यस्तै, फाइनान्सको कुल सञ्चालन आम्दानी ३४.९२ प्रतिशत र सञ्चालन मुनाफा १०.०३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा फाइनान्सको निष्क्रिय कर्जा १२.१६ प्रतिशतबाट घटेर ९.११ प्रतिशतमा झरेको छ।

नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी २९ पैसा घटेर २ रुपैयाँ ४८ पैसामा झरेको छ। असार मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २० करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, फाइनान्सको प्रतिशेयर नटेवर्थ १३७ रुपैयाँ ५२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३६०.१५ गुणा रहेको छ।

७२ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा २७ करोड ३८ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सले २ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।


प्रकाशित : आइतबार, साउन २० २०८११०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend