बिहीबार , असोज १७ गते २०८१    
images
images

गड्डाचौकी हुँदै ६ महिनामा भित्रिए ४६५ पर्यटक

images
मंगलबार, साउन १५ २०८१
images
images
गड्डाचौकी हुँदै ६ महिनामा भित्रिए ४६५ पर्यटक

सीमानाका हुँदै भारत जाने पर्यटकका लागि भारत सरकारले सीमानाका खुला नगर्दा पर्यटक जाने क्रम रोकिएको छ।

images
images

कञ्चनपुर- पश्चिमी सीमानाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२४ को ६ महिनामा चार सय ६५ विदेशी पर्यटक भित्रिएका छन्। सोही अवधिमा सीमानाका हुँदै भारततर्फ जाने विदेशी पर्यटकको सङ्ख्या १५ मात्रै रहेको छ।

images
images
images

अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार सीमानाका हुँदै भारततर्फ जाने पर्यटकको सङ्ख्या न्यून छ। सीमानाका हुँदै भारत जाने पर्यटकका लागि भारत सरकारले सीमानाका खुला नगर्दा पर्यटक जाने क्रम रोकिएको छ।

'नेपालका केही सीमानाकामात्र भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको छ', कार्यालय प्रमुख भट्टले भने, 'गड्डाचौकी हुँदै भारततर्फ जान विदेशी पर्यटकलाई भारतले रोक लगाएको छ। नेपाल भित्रिने विदेशी पर्यटकलाई भारतले सीमानाकामा रोकेको छैन। नेपाल भएर भारततर्फ जानेलाई सन् २०२१ को डिसेम्बर १० तारिखदेखि हालसम्म जान दिएको छैन।' यसै कारणले पर्यटकलाई प्रस्थान (डिपार्चर) दिने कार्य स्वतः स्थगन भएको उनको भनाइ छ।

images

सीमानाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकमा विशेषगरी भारतमा बस्दै आएकाहरू रहेका छन्। 'भारतमा ६ महिना बसेका विदेशी पर्यटकले देश छोड्नुपर्ने नियम छ', कार्यालय प्रमुख भट्टले भने, 'ती विदेशी पर्यटक छ महिना अवधि पुगेपछि नेपाल आउने गरेका छन्, पुनः भारत फर्कनका लागि उनीहरूले अर्को सीमानाकाको प्रयोग गर्ने गरेका छन्।'

images

भारतमा बस्ने विदेशी पर्यटकले नेपाल आएपछि अधिकांशले १५ दिनका लागि राहदानी लिने गरेका छन्। विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको राहदानी दिइने गरेको छ। यसका लागि भिसा शुःल्क ३० डलर लाग्ने गर्दछ। तीस दिनको भिसाका लागि ५० डलर र ९० दिनको लागि एक सय २५ डलर शुःल्क लाग्ने गरेको कार्यालय प्रमुख भट्टले बताए।

विसं २०८१ को असार मसान्तसम्म अध्यागमन कार्यालयले राहदानी शुल्कबापत ५९ हजार पाँचसय २७ डलर राजस्वबापत संकलन गरेको छ। अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्म सीमानाका भएर नौ सय ८३ विदेशी पर्यटक भित्रिएका थिए।

सन् २०२२ मा जनवरीदेखि डिसेम्बरसम्म पाँचसय ४२ विदेशी पर्यटक भित्रिएका थिए। सन् २०२१ जनवरीदेखि जुलाईसम्म सीमानाका हुँदै भित्रिने पर्यटकको सङ्ख्या शून्य थियो। अगष्टदेखि डिसेम्बरसम्म ५८ पर्यटकमात्र भित्रिएका थिए। रासस


प्रकाशित : मंगलबार, साउन १५ २०८११०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend