शुक्रबार, असोज १८ गते २०८१    
images
images

आइतबारको उछालपछि सेयर बजारमा सोमबार 'करेक्सन', १९ अर्ब ६० करोडको कारोबार

images
सोमबार, साउन १४ २०८१
images
images
आइतबारको उछालपछि सेयर बजारमा सोमबार 'करेक्सन', १९ अर्ब ६० करोडको कारोबार
images
images

काठमाडौं- लगानीकर्ताहरू विश्वस्त देखिँदा आइतबार दुईपटक सकारात्मक 'सर्किट ब्रेक' लागेर ११३ अंकले बढेको सेयर बजारमा सोमबार भने करेक्सन देखिएको छ। 

images
images
images

सोमबार २०.६३ अंकले घटेर बजार २६६१.०९ बिन्दुमा झरेको छ। ७० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ। १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

आइतबार कारोबार सुरु भएको १ मिनेट ३१ सेकेण्डमा नै पहिलो सकारात्मक सर्किट ब्रेक लागेको थियो। त्यसपछि २० मिनेट रोकिएर खुलेको बजारमा लगत्तै दोस्रो सर्किट ब्रेकसमेत लागेको थियो। त्यसपछि ४० मिनेटपछि खुलेको बजार उतारचढावमा अघि बढ्दै उचाइतर्फ नै देखिएको थियो।

images

आइतबार ११३.०७ अंकले बढेर बजार २६८१.५६ बिन्दुमा पुगेको थियो। पछिल्लो समय कारोबारमा भइरहेको वृद्धिका साथै लगानीकर्ता विश्वस्त देखिँदा सेयर बजार नयाँ उचाइतर्फ बढिरहेको देखिन्छ। 

images

चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ। गएको शुक्रबार आएको मौद्रिक नीतिपछि संगठित लगानीकर्ताहरू थप उत्साहित देखिएका छन्। जसले आइतबारको बजारमा उछाल नै देखियो।  

मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिदिएको छ। व्यक्तिगततर्फको १५ करोडको सीमा भने यथावत नै छ।

मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गरिएको छ। 

यस्तै मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजीकोष व्यवस्थापनमा सहजता, असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गरिएको छ। त्यस्तै रेगुलेटरी रिटेल पोर्टफोलिया (आरआरपी) को सीमालाई दुई करोडबाट बढाएर २ करोड ५० लाख कायम गर्नेलगायत व्यवस्था ल्याइएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्नेगरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फउन्मुख गरिने मौद्रिक नीतिमा उल्लेख छ। चालु आर्थिक वर्षका लागि विस्तृत मुद्राप्रदायको वृद्धिदर १२ र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको छ।

यस्तोमा मौद्रिक नीतिले बैंकहरूको बिजनेस विस्तारमा थप सहयोग पुग्ने देखिएसँगै सेयर बजारमा समेत बैंकहरूको मूल्यमा उछाल आइरहेको विश्लेषकहरू बताउँछन्। अहिले बैंकिङ समूहमा देखिएको वृद्धिले बजारलाई बलियो रुपमा उचाइतर्फ जान सहयोग पुग्ने उनीहरूको भनाइ छ। 

२०७८ भदौ २ गतेको नेप्से हालसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। त्यसपछि लगातार घटेर १८ सयको बिन्दुमा आइपुगेको थियो। १८ सयदेखि २ हजारको बिन्दुमा लामो समय बजार घुमेर बस्दै अहिले उचाइतर्फ लागेको हो। अहिलेको वृद्धिमा लगानीकर्ताको मनोवैज्ञानिक अवस्थादेखि नीतिगत साथसम्म मिलेकाले अब नयाँ उचाइतर्फ लाग्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : सोमबार, साउन १४ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend