शुक्रबार, असोज १८ गते २०८१    
images
images

बैंकिङ समूहमा देखिएको उछाल, सेयर बजार अब नयाँ उचाइतर्फ लागेको हो?

images
सोमबार, साउन १४ २०८१
images
images
बैंकिङ समूहमा देखिएको उछाल, सेयर बजार अब नयाँ उचाइतर्फ लागेको हो?

नयाँ सरकार गठन भएसँगै लगानीकर्ता उत्साहित देखिँदा बजार लगातार वृद्धितर्फ नै देखिएको छ। गएको शुक्रबार आएको मौद्रिक नीतिपछि त अझ संगठित लगानीकर्ताहरू थप उत्साहित देखिएका छन्।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ। आइतबार नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ बिन्दुमा पुग्यो। जसमा अधिकांश बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। 

images
images
images

आइतबार कारोबार सुरु भएको १ मिनेट ३१ सेकेण्डमा नै पहिलो सकारात्मक सर्किट ब्रेक लागेको थियो। त्यसपछि २० मिनेट रोकिएर खुलेको बजारमा लगत्तै दोस्रो सर्किट ब्रेकसमेत लागेको थियो। त्यसपछि ४० मिनेटपछि खुलेको बजार उतारचढावमा अघि बढ्दै उचाइतर्फ नै देखियो।

१५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २ सय ३५ रुपैयाँको कारोबार भएको आइतबारको बजारमा बैंकिङ समूहमा उछाल नै देखियो। आइतबार सबैभन्दा धेरै बैंकिङ समूह ९.८९ प्रतिशतले बढ्यो। सूचीकृत १९ वाणिज्य बैंकमध्ये स्टान्डर्ड चार्टर्डबाहेक सबै १८ बैंकमा सर्किट ब्रेक लाग्यो। स्टान्डर्ड चार्टर्डको सेयर मूल्य पनि ८.३ प्रतिशतले बढ्यो। 

images

नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, एभरेस्ट बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक र नेपाल बैंक लिमिटेडको सेयर मूल्यमा उछाल देखियो। 

images

कारोबार रकम र कारोबार भएका सेयर सं‌ख्याका आधारमा आइतबार सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको ३६ करोड १० लाख बराबरको १७ लाख ६ हजार ५ सय ८२ कित्ता सेयर किनबेच भयो। आइतबार पहिलो र दोस्रो सर्किट ब्रेक लाग्दा नै अधिकांश बैंकको सेयर मूल्य १० प्रतिशतले बढिसकेको थियो। 

नयाँ सरकार गठन भएसँगै लगानीकर्ता उत्साहित देखिँदा बजार लगातार वृद्धितर्फ नै देखिएको छ। गएको शुक्रबार आएको मौद्रिक नीतिपछि त अझ संगठित लगानीकर्ताहरू थप उत्साहित देखिएका छन्। जसले आइतबारको बजारमा उछाल नै देखियो।  

मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिदिएको छ। व्यक्तिगततर्फको १५ करोडको सीमा भने यथावत नै छ। यसबाहेक पनि मौद्रिक नीतिमा बैंक वित्तीय संस्थाका लागि भएका व्यवस्थाले पुँजी बजारलाई साथ दिने देखिएको छ। 

मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गरिएको छ। 

यस्तै मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजीकोष व्यवस्थापनमा सहजता, असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गरिएको छ। त्यस्तै रेगुलेटरी रिटेल पोर्टफोलिया (आरआरपी) को सीमालाई दुई करोडबाट बढाएर २ करोड ५० लाख कायम गर्नेलगायत व्यवस्था ल्याइएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्नेगरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फउन्मुख गरिने मौद्रिक नीतिमा उल्लेख छ। चालु आर्थिक वर्षका लागि विस्तृत मुद्राप्रदायको वृद्धिदर १२ र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको छ।

यस्तोमा मौद्रिक नीतिले बैंकहरूको बिजनेस विस्तारमा थप सहयोग पुग्ने देखिएसँगै सेयर बजारमा समेत बैंकहरूको मूल्यमा उछाल आइरहेको विश्लेषकहरू बताउँछन्। अहिले बैंकिङ समूहमा देखिएको वृद्धिले बजारलाई बलियो रुपमा उचाइतर्फ जान सहयोग पुग्ने उनीहरूको भनाइ छ। 

२०७८ भदौ २ गतेको नेप्से हालसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। त्यसपछि लगातार घटेर १८ सयको बिन्दुमा आइपुगेको थियो। १८ सयदेखि २ हजारको बिन्दुमा लामो समय बजार घुमेर बस्दै अहिले उचाइतर्फ लागेको हो। अहिलेको वृद्धिमा लगानीकर्ताको मनोवैज्ञानिक अवस्थादेखि नीतिगत साथसम्म मिलेकाले अब नयाँ उचाइतर्फ लाग्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : सोमबार, साउन १४ २०८१०६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend