बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सेयर बजारमा सकारात्मक सर्किट ब्रेक

आइतबार, साउन १३ २०८१
सेयर बजारमा सकारात्मक सर्किट ब्रेक

काठमाडौं- आइतबार कारोबार सुरु भएको १ मिनेट ३१ सेकेण्डमा नै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ। कारोबार सुरु भएको १ मिनेट ३१ सेकेण्डमै उचालिएको बजार 'सर्किट ब्रेक' लागेपछि २० मिनेटका लागि रोकिएको छ। 

कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ। सर्किट ब्रेकपछि २० मिनेटका लागि 'मार्केट हल्ट' भएको हो।

सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतारचढावमा कारोबार स्थगन गर्ने प्रणाली 'सर्किट ब्रेक' हो।

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा 'सर्किट ब्रेक' लाग्ने व्यवस्था छ।

पहिलो सर्किट ब्रेक लाग्दा १०२.६८ अंकले बढेर बजार २६७०.८२ बिन्दुमा पुगेको छ। 

नयाँ सरकार गठन भएसँगै लगानीकर्ता उत्साहित देखिँदा बजारमा लगातार वृद्धितर्फ नै देखिएको छ। गएको शुक्रबार आएको मौद्रिक नीतिपछि संगठित लगानीकर्ताहरू थप उत्साहित देखिएका छन्। 

मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिदिएको छ। व्यक्तिगततर्फको १५ करोडको सीमा भने यथावत नै छ।


प्रकाशित : आइतबार, साउन १३ २०८१११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend