आइतबार, कात्तिक ११ गते २०८१    
images
images

नेपालबाट पहिलोपटक ब्याट्री निर्यात हुँदै, एसटीसी इनर्जीले दुईपांग्रेको ब्याट्री भारत पठाउँदै

राइड ब्रान्डका दुईपांग्रेपछि कार र ठूला सवारीको ब्याट्री निर्यात गर्ने

images
आइतबार, साउन १३ २०८१
images
images
नेपालबाट पहिलोपटक ब्याट्री निर्यात हुँदै, एसटीसी इनर्जीले दुईपांग्रेको ब्याट्री भारत पठाउँदै

भारतमा लिड एसिड ब्याट्री निर्यात गर्ने कुनै पनि कम्पनीले भारतीय बजारबाट निश्चित परिमाणमा पुराना ब्याट्री संकलन गरेर नियामक निकायमा बुझाउनु पर्ने प्रावधान छ। त्यसका लागि एसटीसी इनर्जीले एजेन्ट नियुक्त गरेर काम थालिसकेको कम्पनीले जनाएको छ।

images
images

काठमाडौं- नेपालबाट पहिलोपटक सवारीसाधनजन्य उत्पादनको निर्यात हुने भएको छ। एसटीसी समूहअन्तर्गतको एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिले नेपालमा उत्पादन भएको मोटरसाइकल तथा स्कुटरमा प्रयोग हुने ब्याट्री निर्यात गर्न लागेको हो।

images
images
images

हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गरेर एसटीसी इनर्जीले ब्याट्री उत्पादन गरिरहेको छ। कम्पनीले २०७९ मा उद्योग स्थापना गरेर ब्याट्री उत्पादन थालेको थियो। 

नेपालमा हालसम्म परीक्षणको कुनै व्यवस्था नभएको र सरकारले दिने गुणस्तर चिन्हसमेत दिन सकेको छैन। सोहीकारण एसटीसी इनर्जीले सिंगापुर तथा भारतमा लगेर नेपालमा उत्पादित ब्याट्री परीक्षण गरिरहेको छ।

images

विभिन्न चरणमा केही महिना लगाएर हुने परीक्षण सकिएर प्रतिवेदन आउने क्रममा रहेको कम्पनीले जनाएको छ। परीक्षण प्रतिवेदन आएपछि एसटीसी इनर्जीले राइड ब्रान्डको मोटरसाइकल तथा स्कुटरमा प्रयोग हुने ब्याट्री भारत निर्यात सुरु गर्नेछ।

images

एसटीसी इनर्जीले लिडएसिड ब्याट्री निर्यात गर्न लागेको हो। यस्तो ब्याट्री निर्यात गर्न भारत सरकारले विभिन्न सर्तहरू राखेको छ। त्यस्तो सर्त पूरा नभए निर्यात गर्न नपाइने भएकाले कम्पनीले सिंगापुरको परीक्षण प्रतिवेदनबाहेक सबै प्रक्रिया पूरा गरिसकेको जनाएको छ। 

भारतमा लिड एसिड ब्याट्री निर्यात गर्ने कुनै पनि कम्पनीले भारतीय बजारबाट निश्चित परिमाणमा पुराना ब्याट्री संकलन गरेर नियामक निकायमा बुझाउनु पर्ने प्रावधान छ। त्यसका लागि एसटीसी इनर्जीले एजेन्ट नियुक्त गरेर काम थालिसकेको जनाएको छ।

‘नेपालमा जेसुकै सामान जस्तोसुकै गुणस्तरको होस् वा वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने वस्तुको आयात नै किन नहोस् मन लागेजसरी, मन लागेजति ल्याउन पाइन्छ,’ कम्पनी सम्बद्ध स्रोतले भन्यो, ‘प्रयोगपछिको जटिलता हेरेर भारत, चीनलगायत देशमा भएको राम्रो व्यवस्था नेपालमा पनि लागु गर्न केले रोकिरहेको छ कुन्नी?’

नेपालमा परीक्षण नहुने र त्यससम्बन्धी संघसंस्थासमेत नभएकाले विदेशमै परीक्षण गरेर विदेशमै ब्याट्री बिक्री गर्न एसटीसी इनर्जी कस्सिएर लागेको छ। कम्पनीले सुरुमा मोटरसाइकल तथा स्कुटरमा प्रयोग हुने १२ भोल्टको लिडएसिड ब्याट्री निर्यात गर्ने तयारी गरेको छ। त्यसपछि क्रमिक रुपमा पेट्रोलियम कारमा प्रयोग हुने अक्जुलरी ब्याट्री हुँदै ठूलो बस तथा ट्रकहरुमा प्रयोग हुने ब्याट्रीसम्म निर्यात गर्ने योजना बनाएको छ।

हाल एसटीसी इनर्जीले नेपाली बजारमा मोटरसाइकल तथा स्कुटर र कारमा प्रयोग हुने ब्याट्री बिक्री गरिरहेको छ। त्यस्तै ठूला सवारीमा प्रयोग हुने ब्याट्री परीक्षण गरेर बजारमा ल्याइसकेको कम्पनीले जनाएको छ। 

निर्यात गर्ने‍ परिमाण, मूल्यलगायत बारे भने कम्पनीले खुलाएको छैन। सुरुवाती चरण भएकाले केही समय भारतमा बजार विस्तारका लागि मार्केटिङ गरेर परिमाण बढाउँदै जाने कम्पनीको भनाइ छ। 

एसटीसी इनर्जी इन्डस्ट्रिज  

विभिन्न ब्रान्डका सवारीजन्य पार्टपूर्जाको व्यवसाय गर्दै आएको एसटीसी समूहले हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गरेर २०७९ देखि परीक्षण पूरा गरेर वर्षको मध्यतिरबाट बजारमा बिक्री सुरु गरेको थियो।

सुरुवाती चरणमा मोटरसाइकल तथा स्कुटरमा प्रयोग हुने ब्याट्री बजारमा ल्याएको कम्पनीले हाल कारमा प्रयोग हुने र ठूला गाडीमा प्रयोग हुने ब्याट्री पनि ल्याइसकेको छ। 

एसटीसीले उत्पादन गर्नुपूर्व केही कम्पनीले ब्याट्री एसेम्बल गर्दै आएका थिए। तर एसटीसी इनर्जीले भने कच्चा पदार्थ आयात गरेर सबैजसो आवश्यक वस्तु नेपालमै उत्पादन सुरु गरेको हो। 

सवारीसाधन उत्पादन हुन नसकेको नेपालमा टायरपछि ब्याट्री उत्पादन हुनुले नयाँ आयाम थपेको छ। हालसम्म नेपालमा मोटरसाइकल एसेम्बल गर्दा भारतबाट तयारी पार्टस आयात गरेर जोडजाड गरेर बिक्री गर्ने काम भइरहेको छ।

कारको हकमा पनि मोटरसाइकको भन्दा फरक छैन। मोटरसाइकल तथा कार एसेम्बल गर्दा नेपालमै बनेका कुनै पनि कम्पोनेन्ट प्रयोग हुन सकेको छैन। 

प्रारम्भिक चरणमा एसटीसी इनर्जीले ब्याट्री उद्योगमा ५० करोड रुपैयाँ लगानी गरेको जनाएको छ। पछिल्लो पटक कम्पनीले आफ्नो क्षमता र उत्पादन विस्तार गरेकाले लगानी ७५ करोड रुपैयाँभन्दा बढी भइसकेको अनुमान छ। 

एसटीसी इनर्जी इन्डस्ट्रिजले उत्पादन गरेको ‘राइड’ ब्रान्ड ब्याट्रीको विभिन्न क्षमताका रहेका छन्। राइड ब्रान्डका सबै ब्याट्रीमा कम्पनीले ३ वर्षको वारेन्टी उपलब्ध गराएको छ। 

एसटीसी इनर्जी इन्डस्ट्रिजले ठूला सवारीसम्मको ब्याट्री हुँदै इनभर्टरसहित विद्युतीय सवारीका लागि चाहिने लिथियम आयन ब्याट्रीसम्म उत्पादन गर्ने लक्ष्य राखेको छ।

सुरुमा मोटरसाइकलको ब्याट्री बजारमा पठाएको एसटीसीले ठूला सवारी र इनभर्टरका ब्याट्री उत्पादन गरेर बजारमा पठाइसकेको छ। अब क्रमिक रुपमा कम्पनीले लिथियम आयन ब्याट्री उत्पादनको तयारी सुरु गर्ने योजना रहेको जनाएको छ। 

विद्युतीय सवारीको आयात बढ्दो क्रममा रहेको र नेपालमै पनि लिथियम आयन ब्याट्रीको माग बढ्दै जाने भएकाले त्यसको उत्पादन उपयुक्त हुने देखिएपछि एसटीसी इनर्जी त्यसतर्फ आकर्षित हुन लागेको हो।

विद्युतीय सवारीको ब्याट्री निश्चित समयपछि धेरथोर फेर्नुपर्ने हुन्छ। त्यस्ता ब्याट्री विदेशबाटै आयात गर्नुपर्ने हुन्छ। तर कच्च पदार्थ आयात गरेर नेपालमै उत्पादन गर्दा उपभोक्तालाई पनि फाइदा हुने र सहज रुपमा उपलब्ध हुने विश्वास कम्पनीको छ। 

लिथियम आयन ब्याट्री उत्पादन प्रक्रिया केही जटिल भए पनि एसटीसी ग्रुपले त्यसबारे अध्ययन सुरु गरिसकेको छ। कच्चा पदार्थको उपलब्धता, लिथियम आयन ब्याट्रीका उत्पादन प्रक्रिया, त्यसको गुणस्तरलगायतको विषय उच्च प्राथमिकतामा रहेको कम्पनीको भनाइ छ।

एसटीसी ग्रुपअन्तर्गतका कम्पनीले हाल सीईएट ब्रान्डका टायर, एएसके ब्रान्ड, भ्यारोकलगायत विभिन्न ब्रान्डका पार्टसको आधिकारिक बिक्रेताको रुपमा बिक्री गर्दै आएको छ। उत्पादन उद्योगसहित एसटीसी ग्रुपअन्तर्गत करिब आधा दर्जन कम्पनी छन्।

५० करोड लगानीमा एसटीसी ग्रुपले नेपालमै थाल्यो ब्याट्री उत्पादन, ईभीका लागि लिथियम आयन ब्याट्री बनाउने योजना 


प्रकाशित : आइतबार, साउन १३ २०८११०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend