आइतबार, भदौ २३ गते २०८१    
images
images

बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटक बढे

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ४ २०८१
images
images
बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटक बढे

पर्यटक बढेसँगै पर्यटकीय क्षेत्रमा सञ्चालित होटलमा स्थानीय उत्पादन खपत हुँदा स्थानीयको आयआर्जनमा टेवा पुगेको छ।

images
images

बर्दिया- पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ। निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजातिका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो।

images
images
images

कोभिडपछि थलिएको यहाँको पर्यटन व्यावसाय पछिल्ला वर्षयतादेखि केही आशा पलाएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए। निकुञ्जमा पर्यटक बढेपछि पर्यापर्यटनको राजस्वमा उल्लेख्य वृद्धि भएको उनले जानकारी दिए।

आर्थिक वर्ष २०७९/८० मा आन्तरिक, सार्क र विदेशी पर्यटक गरी २४ हजार तीन सय २४ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन्। सोबापत निकुञ्जलाई दुई करोड २२ लाख आम्दानी भएको वाग्लले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा स्वदेशी, सार्क र विदेशी गरी २६ हजार एक सय ३१ जना पर्यटक निकुञ्ज भित्रिएका छन्। गत आवमा निकुञ्जले दुई करोड ८४ लाख रुपैयाँ पर्यापर्यटनमार्फत आम्दानी गरेको छ। 

पर्यटकको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जले प्रवाह गर्ने सेवा, पर्यटकीय पूर्वाधार निर्माणलगायत पक्षलाई जोड दिइएको अधिकृत वाग्लेले बताए । जङ्गल ‘वाक’ र ‘ड्राइभ’का लागि वनपथ निर्माण, मचान निर्माण, कोर एरिया व्यवस्थापन गरिएको उनले जानकारी दिए। 

images

निकुञ्जभित्रको पूर्वाधारसँगसँगै पर्यटकको बासका लागि होटल, होमस्टेलगायत आवास व्यवस्थापनमा पहल थालिएको वाग्लेले बताए। जिल्लाका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन व्यवसायी र स्थानीय खुशी भएका छन्।

पर्यटक बढेसँगै पर्यटकीय क्षेत्रमा सञ्चालित होटलमा स्थानीय उत्पादन खपत हुँदा स्थानीयको आयआर्जनमा टेवा पुगेको पर्यटन व्यवसायी रामजी थापाले बताए। यहाँ आउने पर्यटकले स्थानीय थारु सँस्कृतिसँगै विभिन्न स्थानीय परिकार खान रुचाउने गरेका उनको भनाइ छ। 

'यहाँको अनुपम जैविकविविधता देखेपछि विदेशी पर्यटक आश्चर्य मान्छन्। निकुञ्जभित्र पर्यटकलाई कुनै समस्या छैन। सफारीमा जङ्गलभित्र गाडी बिग्रिएपछि निकुञ्जले उद्धार गर्ने गरेको छ', थापाले भने।

निकुञ्ज क्षेत्रमा ३० भन्दा बढी पर्यटकीय होटल तथा होमस्टे भएकाले पर्यटकलाई आवासको समस्या नभएको निकुञ्जका पथ प्रर्दशक अनुराम चौधरीले बताए।

'अधिकांश विदेशी पर्यटक जङ्गलमा हिडेर अवलोकन गर्न रुचाउँछन्। अन्य देशका पर्यटक सफारी रोज्छन्। जङ्गलमा डढेलो लागेको अवस्थाबाहेक अन्य समयमा पर्यटक जङ्गलभित्र रमाइलो मान्छन्', उनले भने। 

निकुञ्जमा बाघ, विभिन्न प्रजातिका वनस्पतीसँगै लोपोन्मुख तथा र्दुलभ जनावर, हात्ती, बाघ, गैँडा, विभिन्न किसिमका पक्षी, जलचर, थलचर, उभयचरलगायत वन्यजन्तु अवलोकन गर्न पाइन्छ। विशेष गरी गर्मी महिनामा पर्यटकले अत्याधिक मात्रामा बाघ देख्ने गरेका छन्। अहिले निकुञ्जमा हात्तीको झुण्ड देख्न सकिन्छ। रासस


प्रकाशित : शुक्रबार, साउन ४ २०८११७:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend