शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

अर्थतन्त्र गतिशील बनाउन सबै पक्षलाई सहकार्यका लागि अर्थमन्त्री पौडेलको आह्वान

सोमबार, असार ३१ २०८१
अर्थतन्त्र गतिशील बनाउन सबै पक्षलाई सहकार्यका लागि अर्थमन्त्री पौडेलको आह्वान

काठमाडौं- नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र गतिशील र चलायमान बनाउन सबै पक्षलाई सहकार्यका लागि आह्वान गरेका छन्।

राष्ट्रपति भवनमा शपथ लिएसँगै सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री पौडेलले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनु नै अहिलेको मुख्य चुनौती भएको बताएका छन्। 

‘संयुक्त सरकारले स्थिरताको सन्देशसहित देशलाई विकासतर्फ लिएर जान सक्छौँ भन्ने आत्मविश्वास सहित आएका छौँ,’ अर्थमन्त्री पौडेलले भने।

लामो समयदेखि नेपालको अर्थतन्त्र शिथिल भइरहेको बताउँदै यसलाई चलायमान गराइ गतिशील बनाउनु र अर्थतन्त्रको सबै क्षेत्रहरुलाई चलायमान गराउनु नै मुख्य कार्यभार रहेको उनले बताए। 

‘मुख्य रुपमा मानिसहरुको आत्मविश्वास टुटेको छ, हामी हाम्रा समस्याहरु समाधान गर्न सक्छौँ, रोजगारी सिर्जनामा लाग्न सक्छौँ भनेर अगाडि आएका छौँ,’ अर्थमन्त्री पौडेलले भने।

अहिले सबै पक्षलाई विश्वास दिलाउनु नै मुख्य चुनौती रहेको बताउँदै अर्थमन्त्री पौडेलले निराशा चिर्ने र आशा जगाउने काममा बढी केन्द्रित हुनुपर्ने बताए। 

‘सबै क्षेत्रलाई एकैसाथ प्रभावकारी ढंगले अगाडि बढाउने र समस्यालाई पहिचान गरी समाधानका लागि सबैसँग हातेमालो गर्ने सोचका साथ अगाडि बढ्नुपर्दछ,’ अर्थमन्त्री पौडेलले भने।  

सबै क्षेत्रले नयाँ सरकारसँग घनिष्ट सहकार्य गर्ने विश्वास लिएर जानेसमेत उनले बताए। निजी क्षेत्रका समस्या सुनेर काठिनाइहरुलाई सुल्झाउने गरी काम गर्नुको साथै समाधानका लागि सहकार्य पनि गर्ने उनको भनाइ छ। ‘खासगरी रोजगारी सिर्जना गरी आर्थिक वृद्धिसहित विकासका लागि लाग्न र अनुकूल परिस्थिति निर्माणमा लाग्न सबैलाई आग्रह गर्दछु,’ अर्थमन्त्री पौडेलले भने।  

बजेटको सन्दर्भमा सरकारका सोचहरु, सरकारका कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि बजेट बाधक नबन्ने बताउँदै उनले कार्यान्वयनको शिलशिलामा समस्या आयो भने संवैधानिक रुपमा अगाडि बढ्नेसमेत बताए। ‘सरकारको सोच र कार्यक्रम कार्यान्वयन गर्न बजेट बाधक बन्दैन, सोहीअनुसार अगाडि जाने छौँ,’ अर्थमन्त्री पौडेलले भने। 


प्रकाशित : सोमबार, असार ३१ २०८११५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend