शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

लगातार उकालो लाग्दै बिहीबार २९ अंकले बढेर २२०० को बिन्दुमा नेप्से, ७ अर्बभन्दा बढीको कारोबार

बिहीबार , असार २७ २०८१
लगातार उकालो लाग्दै बिहीबार २९ अंकले बढेर २२०० को बिन्दुमा नेप्से, ७ अर्बभन्दा बढीको कारोबार

अहिलेको वृद्धि केही संगठित लगानीकर्ताको जोडबल मात्र नभएर बजारले उचाइतर्फकै दिशा समाउन थालेको विश्लेषकहरू बताउँछन्।

काठमाडौं- निरन्तर उतारचढावमा रहेको सेयर बजार गएको सातायता भने निरन्तर उकालो लागिरहेको छ।

सत्ता गठबन्धन फेरिने भएसँगै राहत मिल्ने अपेक्षाले लगानीकर्ता सम्हालिँदा यो साता आइतबार बढेर सोमबारको कारोबार थामिएको सेयर बजारले मंगलबार, बुधबार र साताको अन्तिम कारोबार दिन बिहीबार पुन: वृद्धिको लय समातेको छ।

बिहीबार २९.२१ अंकले बढेर बजार २२०४.६१ बिन्दुमा पुगेको छ। १ सय ५४ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा सात अर्ब ८ करोड ६ लाख रूपैयाँको कारोबार भएको छ। आज ७८ कम्पनीको सेयर मूल्य घट्दा १२ कम्पनीको स्थिर छ।

गएको साता समग्रमा ६७.७५ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार २१.२७ अंकले बढेको थियो भने सोमबार ४.६२ अंकले घटेको थियो। मंगलबार १५.७९ अंकले बढेको बजार बुधबार पनि पुन: दोहोरो अंककै वृद्धितर्फ लागेको हो। बुधबार २३.२५ अंकले बढेर बजार २१७५.४० बिन्दुमा पुगेको थियो।

निरन्तर उतारचढावमा रहेको बजारमा सत्ता गठबन्धन फेरिएर नयाँ सरकार गठन हुने भएसँगै लगानीकर्ता उत्साहित हुँदा बजार वृद्धितर्फ नै बढी देखिएको हो।

संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले सत्ता समीकरणका लागि सहमत भएसँगै नीतिगत साथ पाउने आशमा लगानीकर्ता हौसिएका छन्। फेरिएको सत्ताले लगानीकर्तामैत्री नीति लिने आशमा उनीहरू रहेका छन्। 

अहिलेको वृद्धि केही संगठित लगानीकर्ताको जोडबल मात्र नभएर बजारले उचाइतर्फकै दिशा समाउन थालेको विश्लेषकहरू बताउँछन्। अब नयाँ सरकार आएसँगै देखिने नीतिगत विषयहरूले बजारलाई गति दिन सक्ने उनीहरूको भनाइ छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गर्ने व्यवस्थाको पर्खाइमा समेत लगानीकर्ता रहेको उनीहरूको भनाइ छ। 


प्रकाशित : बिहीबार , असार २७ २०८११५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend