शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

पुन: वृद्धितर्फ लाग्यो सेयर बजार, ५ अर्ब ५३ करोडको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २५ २०८१
पुन: वृद्धितर्फ लाग्यो सेयर बजार, ५ अर्ब ५३ करोडको कारोबार

काठमाडौं- गएको सातादेखि वृद्धितर्फ लागेर यो साता सोमबारको कारोबार थामिएको सेयर बजार मंगलबार पुन: वृद्धितर्फ लागेको छ। सत्ता गठबन्धन फेरिने भएसँगै त्यसयता सेयर बजारका लगानीकर्ता सम्हालिएका देखिन्छन्।

गएको साता समग्रमा ६७.७५ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार २१.२७ अंकले बढेको थियो भने सोमबार ४.६२ अंकले घटेको थियो। 

मंगलबार १५.७९ अंकले बढेर बजार २१५२.१४ बिन्दुमा पुगेको छ। १६८ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ। ६८ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

निरन्तर उतारचढावमा रहेको बजारमा सत्ता गठबन्धन फेरिएर नयाँ सरकार गठन हुने भएसँगै लगानीकर्ता उत्साहित हुँदा बजार वृद्धितर्फ नै बढी देखिएको हो।

गएको साता सोमबार बजार १६.२९ अंकले बढेको थियो। मंगलबार दुईपटक सकारात्मक सर्किट ब्रेक लागेको सेयर बजार अन्तिम कारोबार समयसम्ममा ४७ अंकले बढेर बन्द भएको थियो। बुधबार पनि फाइनान्स कम्पनीको सेयर मूल्यमा भारी वृद्धि भएसँगै बजार ३.७९ अंकले बढेको थियो भने  बिहीबार पनि १५.४६ अंकले बढेको थियो।

संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले सत्ता समीकरणका लागि सहमत भएसँगै नीतिगत साथ पाउने आशमा लगानीकर्ता हौसिएका छन्। फेरिएको सत्ताले लगानीकर्तामैत्री नीति लिने आशमा उनीहरू रहेका छन्। 

अहिलेको वृद्धि केही संगठित लगानीकर्ताको जोडबल हो या बजारले उचाइतर्फकै दिशा समाएको हो भन्न सकिने अवस्था नरहेको विश्लेषकहरू बताउँछन्। अब नयाँ सरकार आएसँगै देखिने नीतिगत विषयहरूले बजारलाई गति दिन सक्ने उनीहरूको भनाइ छ।


प्रकाशित : मंगलबार, असार २५ २०८११५:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend