शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

लगातार बढिरहेको सेयर बजार पुन: लाग्यो ओरालो, कारोबार रकममा पनि गिरावट

सोमबार, असार २४ २०८१
लगातार बढिरहेको सेयर बजार पुन: लाग्यो ओरालो, कारोबार रकममा पनि गिरावट

सोमबार ४.६२ अंकले घटेर बजार २१३६.३५ बिन्दुमा पुग्दा चार अर्ब ५६ करोड ९८ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- अघिल्लो सातायता लगातार बढिरहेको सेयर बजार यो साताको दोस्रो कारोबारमा भने पुन: ओरालो लागेको छ।

गएको साता समग्रमा ६७.७५ अंकले बढेको सेयर बजार यो साता आइतबार २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा पुगेको थियो। सत्ता गठबन्धन फेरिने भएसँगै लगातार सुधारतर्फत जाने अपेक्षा गरिए पनि सोमबार भने बजार घटेको हो।

सोमबार ४.६२ अंकले घटेर बजार २१३६.३५ बिन्दुमा ओर्लिएको छ। ९५ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा चार अर्ब ५६ करोड ९८ लाख रूपैयाँको कारोबार भएको छ। १ सय ४१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर छ।

संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले सत्ता समीकरणका लागि सहमत भएसँगै नीतिगत साथ पाउने आशमा लगानीकर्ता हौसिएका छन्। फेरिएको सत्ताले लगानीकर्तामैत्री नीति लिने आशमा उनीहरू रहेका छन्। 

यद्यपी निरन्तर उतारचढावमा रहेको बजारमा सत्ता गठबन्धन फेरिएर नयाँ सरकार गठन हुने भएसँगै लगानीकर्ता उत्साहित हुँदा बजारले वृद्धिको लय समात्ने अपेक्षाविपरीत सोमबार भने बजारले पुन: ओरालो गति समातेको छ।

अहिलेको वृद्धि केही संगठित लगानीकर्ताको जोडबल हो या बजारले उचाइतर्फकै दिशा समाएको हो भन्न सकिने अवस्था नरहेको विश्लेषकहरू बताउँछन्। अब नयाँ सरकार आएसँगै देखिने नीतिगत विषयहरूले बजारलाई गति दिन सक्ने उनीहरूको भनाइ छ।


प्रकाशित : सोमबार, असार २४ २०८११५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend