शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

दोहोरो अंकले बढ्यो सेयर बजार, ६ अर्ब ४८ करोडको कारोबार

बिहीबार , असार २० २०८१
दोहोरो अंकले बढ्यो सेयर बजार, ६ अर्ब ४८ करोडको कारोबार

आज ९२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ६ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

काठमाडौं- सेयर बजारमा लगातार चौथो दिन पनि हरियाली छाएको छ। निरन्तर उतारचढावमा रहेको बजारमा सत्ता गठबन्धन फेरिएर नयाँ सरकार गठन हुने भएसँगै लगानीकर्ता उत्साहित हुँदा बजारले वृद्धिको लय समातेको हो।

यो साता पहिलो कारोबार दिन आइतबार १४.८३ अंकले घटेर २०३७.०९ बिन्दुमा ओर्लिएको बजारले त्यसयता निरन्तर बढेर २१०० बिन्दु टेकेको छ। बिहीबार पनि १५.४६ अंकले बढेर बजार २११९.६९ बिन्दुमा पुगेको छ।

बिहीबार एकसय ४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ६ अर्ब ४८ करोड २५ लाख रूपैयाँको कारोबार भएको छ। आज ९२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ६ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

साताको पहिलो दिन घटेपनि दोस्रो दिन सोमबार भने बजार १६.२९ अंकले बढेको थियो। मंगलबार दुईपटक सकारात्मक सर्किट ब्रेक लागेको सेयर बजार अन्तिम कारोबार समयसम्ममा ४७ अंकले बढेर बन्द भएको थियो। बुधबार पनि फाइनान्स कम्पनीको सेयर मूल्यमा भारी वृद्धि भएसँगै बजार ३.७९ अंकले बढेर २१०४.२२ बिन्दुमा पुगेको थियो।

संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले सत्ता समीकरणका लागि सहमत भएसँगै नीतिगत साथ पाउने आशमा लगानीकर्ता हौसिएका छन्। फेरिएको सत्ताले लगानीकर्तामैत्री नीति लिने आशमा उनीहरू रहेका छन्। 

अहिलेको वृद्धि केही संगठित लगानीकर्ताको जोडबल हो या बजारले उचाइतर्फकै दिशा समाएको हो भन्न सकिने अवस्था नरहेको विश्लेषकहरू बताउँछन्।

अब नयाँ सरकार आएसँगै देखिने नीतिगत विषयहरूले बजारलाई गति दिन सक्ने उनीहरूको भनाइ छ।


प्रकाशित : बिहीबार , असार २० २०८११५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend