शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

फाइनान्स कम्पनीका सेयर मूल्यमा उभार आएसँगै बुधबारको सेयर बजार थामियो

बुधबार, असार १९ २०८१
फाइनान्स कम्पनीका सेयर मूल्यमा उभार आएसँगै बुधबारको सेयर बजार थामियो

बुधबार सेन्ट्रल, आसीएफसी, मन्जुश्री लगायतकाका फाइनान्समा सकारात्मक सर्किट लागेको छ।

काठमाडौं- मंगलबार ४७ अंकले बढेपनि बुधबार बिहानैदेखि सेयर बजार घट्यो। तर घटेको बजार अन्तिम समयमा आएर थामिएर बन्द भएको छ। 

सत्ता गठबन्धन फेरिने भएसँगै सेयर बजारका लगानीकर्ताले त्यसको स्वागत गरेका थिए। मंगलबार दुईपटक सकारात्मक सर्किट ब्रेक लागेको सेयर बजार अन्तिम कारोबार समयसम्ममा ४७ अंकले बढेर बन्द भएको थियो।

बुधबार भने कारोबार सुरु भएलगत्तै घटेको बजार फाइनान्स कम्पनीको सेयर मूल्यमा भारी वृद्धि भएसँगै थामिएको छ। बुधबार सेयर बजार ३.७९ अंकले बढेको छ। २१०४.२२ बिन्दुमा पुगेको बजारमा ५ अर्ब रुपैयाँको कारोबार भएको छ। १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ।

बुधबार सेन्ट्रल, आसीएफसी, मन्जुश्री लगायतकाका फाइनान्समा सकारात्मक सर्किट लागेको छ।

संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले सत्ता समीकरणका लागि सहमत भएसँगै नीतिगत साथ पाउने आशमा लगानीकर्ता हौसिएका छन्। फेरिएको सत्ताले लगानीकर्तामैत्री नीति लिने आशमा उनीहरू रहेका छन्। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने अडान राखेपछि मंगलबार नै सेयर बजार तल ओर्लिएको थियो। जसको असर बुधबारको कारोबारमा पनि परेको छ।

मंगलबार ४७.०४ अंकले बढेर बजार २१००.४३ बिन्दुमा पुगेको थियो। २२७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार रुपैयाँको कारोबार भएको थियो।

यो साता आइतबार पहिलो कारोबारमा १४.८३ अंकले घटेको बजार सोमबार राजनीतिक फेरबदलको संकेतले १६.२९ अंकले बढेको थियो।

अहिलेको वृद्धि केही संगठित लगानीकर्ताको जोडबल हो या बजारले उचाइतर्फकै दिशा समाएको हो भन्न सकिने अवस्था नरहेको विश्लेषकहरू बताउँछन्। अब नयाँ सरकार आएसँगै देखिने नीतिगत विषयहरूले बजारलाई गति दिन सक्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : बुधबार, असार १९ २०८११५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend