शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सत्ता फेरिने खबरले हौसिए सेयर बजारका लगानीकर्ता, ४७ अंकले बढेर टेक्यो २१०० बिन्दु

मंगलबार, असार १८ २०८१
सत्ता फेरिने खबरले हौसिए सेयर बजारका लगानीकर्ता, ४७ अंकले बढेर टेक्यो २१०० बिन्दु

काठमाडौं- सत्ता गठबन्धन फेरिने भएसँगै सेयर बजारका लगानीकर्ताले त्यसको स्वागत गरेका छन्। मंगलबार दुईपटक सकारात्मक सर्किट ब्रेक लागेको सेयर बजार अन्तिम कारोबार समयसम्ममा ४७ अंकले बढेर बन्द भएको छ।  

संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले सत्ता समीकरणका लागि सहमत भएसँगै नीतिगत साथ पाउने आशमा लगानीकर्ता हौसिएका छन्। फेरिएको सत्ताले लगानीकर्तामैत्री नीति लिने आशमा उनीहरू रहेका छन्। 

मंगलबार बजार ४७.०४ अंकले बढेर बजार २१००.४३ बिन्दुमा पुगेको छ। २२७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ। १७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

मंगलबार कारोबार सुरु भएको १ मिनेट २० सेकेण्डमै पहिलो सर्किट ब्रेक, त्यसपछि कारोबार खुल्नासाथ दोस्रो मिनेटमा नै दोस्रो सर्किट ब्रेक लागेको थियो। त्यसपछि ४० मिनेटपछि खुलेको बजार भने केही थामिएर अघि बढ्यो। 

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रोमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा 'सर्किट ब्रेक' लाग्ने व्यवस्था छ। सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतारचढावमा कारोबार स्थगन गर्ने प्रणाली 'सर्किट ब्रेक' हो।

यो साता आइतबार पहिलो कारोबारमा १४.८३ अंकले घटेको बजार सोमबार राजनीतिक फेरबदलको संकेतले १६.२९ अंकले बढेको थियो।

अहिलेको वृद्धि केही संगठित लगानीकर्ताको जोडबल हो या बजारले उचाइतर्फकै दिशा समाएको हो भन्न सकिने अवस्था नरहेको विश्लेषकहरू बताउँछन्। अब नयाँ सरकार आएसँगै देखिने नीतिगत विषयहरूले बजारलाई गति दिन सक्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : मंगलबार, असार १८ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend