आइतबार, भदौ २३ गते २०८१    
images
images

आँपको बजार नपाएको किसानको गुनासो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १४ २०८१
images
images
आँपको बजार नपाएको किसानको गुनासो

आँपको आवश्यक प्रचारप्रसार हुन सके यहाँको उत्पादनको बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

images
images

महोत्तरी- पानीबेगरको बडहरी खोलावारि महोत्तरीका बर्दिबास-७ प्रेमनगर र भङ्गाहा-४ को रामनगर, पारिपट्टी धनुषाको वटेश्वर गाउँपालिकाका चित्रपुर, लवकुशचोक, कुसुमबिसौना र कात्तिककुमर छन्। खोलावारि र पारि आँपका बगान (बगैँचा) छन्। आँपको यही पकेट क्षेत्रमा आज शुक्रबार आँप महोत्सव सम्पन्न भएको छ।

images
images
images

महोत्सवमा जताततै ढकीढकीमा सजाएर राखिएका विभिन्न थरीका आँप छन्। मालदह, दशहरी, बमई, किसनभोग, आम्रपाली, मल्लिका, स्वर्णरेखा, गुलावखास, मिसरिया, डोल्मा, केरवा, लालमोहन, लरुवा र कलकतियालगायतका आँपले महोत्सव सुगन्धित छ।

दर्शकहरु थरीथरीका आँपको स्वाद लिन व्यस्त छन्। आँप उत्पादक किसानले  भने अवलोकनकर्तासँग आफ्नो उत्पादनले बजार नपाएको गुनासो गरेका छन्।

आँप उत्पादनको पकेट क्षेत्र भए पनि यसबारे कतैबाट चासो वास्ता नपाएपछि वटेश्वर-१ का किसानले आज आँप मेला आयोजना गरेका हुन्।

images

'हाम्रो मुख्य फसल यही (आँप) हो न बजार छ, न केही दिन सुरक्षित थन्क्याउने चिस्यानघर छ' महोत्सवको अवलोकन गरिरहनुभएका मधेस प्रदेशसभाका प्राकृतिक स्रोत साधन समितिका सभापति शारदा पहाडीसँग ७५ वर्षीय किसान रामविलास महतोले भने, 'लौ न, हाम्रा कुरा पनि सुनिऊन्।'

महोत्सव अवलोकन गर्न पुगेका नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमसहितका पदाधिकारी, महोत्तरी/धनुषाका सञ्चारकर्मीहरु, उद्योगी/व्यवसायी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, व्यापारी र जनप्रतिनिधिबीच कुराकानी गर्ने सबै किसानले रामविलास महतोकै कुरा दोहोर्‍याएका छन्। 

'उत्पादनको पकेट क्षेत्रमै मेला महोत्सव गरेर तपाईंहरुलाई आफ्नो व्यथा सुनाउन चाहेका हौँ', ६५ वर्षीय किसान रामगुलाम महतोले भने, 'हाम्रो मर्का सबैले सुन्ने, बुझ्ने गरी खबर बनाइदिनुस्।'

आँप धमाधम पाक्न थालेपछि तत्काल बजार पुर्‍याउन नसके रूखबाट झरेर सड्छन्। त्यसैले केही दिन आँप थन्क्याएरपछि भाउ पाउने गरी बेच्न चिस्यानघरको जरुरी भएको रामगुलामको भनाइ छ। चिस्यानघरको प्रबन्ध भए मात्र पनि निकै राहत हुने महोत्सवमा आँप उत्पादक किसानले बताएका छन्।

मेलाको आयोजना नै यहाँको आँप बगैँचा देखाउन, आँपको स्वाद चखाउन, होटल व्यवसायी र व्यापारीलाई यहाँको आँपबाट आकर्षित गराउन र आँप पकेट क्षेत्रको प्रचारप्रसार गराउनु रहेको आँप मेला आयोजक समितिका संयोजक फुलगेन मगहीले स्पष्ट पारे। 

'आजको महोत्सव आँप बेच्ने उद्देश्यले आयोजना गरिएको होइन, पाहुनालाई यहाँका बगैँचा देखाउन र यहाँका थरीथरीका आँप चखाउन आयोजना गरिएको हो,' मगहीले महोत्सव आयोजनाबारे स्पष्ट पार्दै भने।

महोत्सवमा महोत्तरी र धनुषाका विभिन्न भेगका विद्यालयका शिक्षक तथा विद्यार्थीहरु पनि सहभागी भए। एकदिने महोत्सवले आँपाका पारखीहरुको चासो बढाउने वटेश्वर-१ का वडाअध्यक्ष अशोककुमार महतो बताउँछन्।

असारे १५ पर्वको एक दिनअघि आयोजित महोत्सवले यहाँ आँप खोज्न आउने बढ्छन् भन्ने किसानको अपेक्षा छ। यहाँ उत्पादित आँप नजिकको ढल्केबर, बर्दिबास, भङ्गाहा र महेन्द्रनगरका बजारसम्म पुर्‍याएर बेच्ने गरिएको स्थानीय किसान रामउद्गार महतोले बताए।

आँपको आवश्यक प्रचारप्रसार हुन सके यहाँको उत्पादनको बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा गरिएको मधेस प्रदेशसभा सदस्य शारदा पहाडीले बताइन्। आफूले यहाँका किसानका गुनासा प्रदेश सरकार मुख्यमन्त्री, कृषिमन्त्री र प्रदेशसभासम्म पुर्‍याउने पहाडीले प्रतिबद्धता जनाइन्। रासस


प्रकाशित : शुक्रबार, असार १४ २०८११९:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend