शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सेयर बजारमा साताभर सामान्य उतारचढाव, पर्ख र हेरकै सोचमा लगानीकर्ता

बिहीबार , असार १३ २०८१
सेयर बजारमा साताभर सामान्य उतारचढाव, पर्ख र हेरकै सोचमा लगानीकर्ता

काठमाडौं- यो साता सामान्य उतारचढाव भइरहेको सेयर बजारमा लगातार दोस्रो कारोबारमा गिरावट देखिएको छ। आइतबार सामान्य घटेर दुई दिन बढेको बजार पुन: दुई दिन घटेको हो।

आइतबार सामान्य अंकले घटेर सोमबार सामान्य अंकमा बढेको सेयर बजारमा मंगलबार पनि सानो अंककै वृद्धि देखिएको थियो। बुधबार दोहोरो अंकले बजार घटेकोमा बिहीबार पुन: ओरालोतिरै देखिएको हो। 

बिहीबार ८.२४ अंकले घटेर बजार २०५१.९२ बिन्दुमा झरेको छ। ४७ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ। १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता आइतबार ५.३७ अं‌कले घटेको बजार सोमबार ३.२१ अंकले बढेको थियो। मंगलबार पनि सेयर बजार ५.६० अंकले बढेको थियो। बुधबार ११.६० अंकले घटेको थियो। 

कमजोर भइरहेको बजार वृद्धितर्फ जाने अपेक्षाविपरीत बढीजसो ओरालोतिर नै लागिरहेको छ। सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै सेयर बजारमा ओरालो गति नै बढी देखिएको हो। वृद्धितर्फको संकेत गरे पनि बजारले उल्लेख्य वृद्धि समात्न सकेको छैन। 

२०७८ भदौ २ नेप्से परिसूचक हालसम्मकै उच्च ३१९९ बिन्दुमा पुगेको थियो। तर त्यसयता उतारचढावबीच घटिरहेको बजार सम्हालिन सकेको थिएन। केही दिन वृद्धितर्फ देखिए पनि स्थायी सुधारका आधारहरू भेटिएका छैनन्। 

उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा बजार धरमर नै भइरहेको हो। लामो समयदेखि बजार उतारचढावबीच २००० देखि २१०० बिन्दुकै आसपासमा छ। 

विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिएको बजारमा केही संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा भए पनि बजारले गति लिन सकेको छैन। 


प्रकाशित : बिहीबार , असार १३ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend