शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

प्राथमिक पुँजीकोषमा समस्या भएका बैंकहरूले अविमोच्य अग्राधिकार सेयर जारी गर्न सक्ने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १२ २०८१
प्राथमिक पुँजीकोषमा समस्या भएका बैंकहरूले अविमोच्य अग्राधिकार सेयर जारी गर्न सक्ने

काठमाडौं- प्राथमिक पुँजीकोषको अत्याधिक दबाबमा रहेका प्रमुख वाणिज्य बैंकहरूलाई पुँजी पुर्‍याउन राष्ट्र बैंकले अग्राधिकार सेयर जारी गर्न दिने भएको छ। बुधबार राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको हो। 

अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्कासन गर्न पाइने छैन। अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्न सुनिश्चित हुने गरी जारी गर्नुपर्नेसमेत व्यवस्था गरिएको छ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर इजाजतपत्रप्राप्त संस्था स्वयंले निष्काशन गर्नु पर्नेछ। साथै यस्तो सेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्नेसमेत व्यवस्था गरेको छ। अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै पनि सुरक्षण नराखी निष्कासन गर्नुपर्नेछ।

साथै अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लाभांश वितरण गर्ने वा नगर्नेसम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा निहित हुनेछ र यससम्बन्धी व्यवस्था इजाजतपत्रप्राप्त संस्थालेविवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ।

साथै यस्तो सेयरमा प्रदान गर्ने लाभांश दर समेत विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ। अविमोच्य असञ्चिति अग्राधिकार सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ। यसका लागि सञ्चित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न पाइने छैन। 

मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत राष्ट्र बैंकले विभिन्न उपकरणहरूमार्फत बैंकहरूको प्राथमिक पुँजीकोष सहज बनाएर कर्जा प्रवाह बढाउने नीति लिएको थियो। सोही नीतिअनुसार राष्ट्र बैंकले अग्राधिकार सेयर जारी गर्न दिने गरी एकीकृत निर्देशन जारी गरेको हो।


प्रकाशित : बुधबार, असार १२ २०८११९:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend