काठमाडौं- आइतबार सामान्य अंकले घटेर सोमबार सामान्य अंकमा बढेको सेयर बजारमा मंगलबार पनि सानो अंककै वृद्धि देखिएको छ। गएको साता ४३.९७ अंकले घटेको सेयर बजारमा यो साताको तीन कारोबार उल्लेख्यरुपमा घटबढ भएको छैन।
यो साता आइतबार ५.३७ अंकले घटेको बजार सोमबार ३.२१ अंकले बढेको थियो। मंगलबार ५.६० अंकले बढेर २०७१.७७ बिन्दुमा पुगेको छ। १५१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ। ८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
कमजोर भइरहेको बजार वृद्धितर्फ जाने अपेक्षाविपरीत निरन्तर ओरालोतिर नै लागिरहँदा अहिले बजार थामिएको हो। सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै सेयर बजारमा ओरालो गति नै बढी देखिन्छ। वृद्धितर्फको संकेत गरे पनि बजारले उल्लेख्य वृद्धि समात्न सकेको छैन।
२०७८ भदौ २ नेप्से परिसूचक हालसम्मकै उच्च ३१९९ बिन्दुमा पुगेको थियो। तर त्यसयता उतारचढावबीच घटिरहेको बजार सम्हालिन सकेको थिएन। केही दिन वृद्धितर्फ देखिए पनि स्थायी सुधारका आधारहरू भेटिएका छैनन्।
उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।
विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिएको बजारमा केही संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा भए पनि बजारले गति लिन सकेको छैन।
विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा बजार धरमर नै भइरहेको हो। लामो समयदेखि बजार उतारचढावबीच २००० देखि २१०० बिन्दुकै आसपासमा छ।