शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

निरन्तर ओरालो लागेको सेयर बजार थामिएर पुन: सामान्य वृद्धितर्फ, ५ अर्बको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १० २०८१
निरन्तर ओरालो लागेको सेयर बजार थामिएर पुन: सामान्य वृद्धितर्फ, ५ अर्बको कारोबार

काठमाडौं- गएको सातायता ४९.३४ अंकले घटेपछि सेयर बजार पुन: सामान्य वृद्धितर्फ देखिएको छ। गएको साता ४३.९७ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबार पनि कमजोर नै देखिएको थियो। दोस्रो कारोबारमा भने सामान्य वृद्धि देखिएको छ। 

यो साता आइतबार ५.३७ अं‌कले घटेको बजार सोमबार ३.२१ अंकले बढेर २०६६.१६ बिन्दुमा पुगेको छ। १४२ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ। ९४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता आइतबार १७.०४ अंकले घटेको बजार सोमबार बन्द रहेको थियो। मंगलबार पुन: १८.७६ अंकले घटेको बजार बुधबार भने थामिएको थियो। बुधबार २.२७ अंकले बढेको बजार बिहीबार १०.४४ अंकले घटेको थियो। 

कमजोर भइरहेको बजार वृद्धितर्फ जाने अपेक्षाविपरीत निरन्तर ओरालोतिर नै लागिरहँदा सोमबार बजार थामिएको हो। सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै सेयर बजारमा ओरालो गति नै बढी देखिएको छ। 

२०७८ भदौ २ नेप्से परिसूचक हालसम्मकै उच्च ३१९९ बिन्दुमा पुगेको थियो। तर त्यसयता उतारचढावबीच घटिरहेको बजार सम्हालिन सकेको थिएन। केही दिन वृद्धितर्फ देखिए पनि स्थायी सुधारका आधारहरू भेटिएका छैनन्। 

उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा बजार धरमर भइरहेको हो। लामो समयदेखि बजार उतारचढावबीच २००० देखि २१०० बिन्दुकै आसपासमा छ। 

विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिएको बजारमा केही संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा भए पनि बजारले गति लिन सकेको छैन। 


प्रकाशित : सोमबार, असार १० २०८११५:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend